मुख्य समाचार सबै

देशभर वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातले सडकम अवरुद्ध, सोमबारसम्म सचेत रहन मौसम विज्ञको आग्रह

शनिबार दिउसो बाक्लो हिउँ परेपछि चरनबाट घरतर्फ लाग्दै रसुवा लाङटाङका चौरीहरु । तस्बिर सामाजिक संजालबाट

काठमाडौं– देशका विभिन्न भागमा मौसमी प्रणालीमा आएको फेरबदलका कारण विभिन्न स्थानमा सडकहरु अवरुद्ध छन् भने कतिपय हिमपातले सवारी फसेका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार मध्यान्ह जारी गरेको बुलेटिन अनुसार मध्यपहाडी राजमार्गको रुकुम पूर्व र बागलुङ जोड्ने खण्डमा हिमपातका कारण अवरोध छ भने वर्षाले बाटो सवारी चिप्लिएर महेन्द्र राजमार्ग अन्तर्गतको दाउन्ने खण्ड दुईतर्फी अवरुद्ध छ ।

प्राधिकरणका अनुसार शुक्रवारको वर्षाले अवरुद्ध पारेको कान्ति लोकपथ र बीपी राजमार्ग धेरै प्रयासपछि खुलाइएको पनि वर्षा जारी भएकाले सोमबारसम्म सजग भएर यात्रा गर्न सबैमा आग्रह गरिएको छ ।
अवरोध भएका सडकमा पहिरो पन्छाउने काम भइरहेको छ भने केहीमा अवरोध हटाएर एकतर्फी सवारी साधन संचालनमा ल्याइएको छ ।
मौसमविद्हरुले शनिवार रातीबाट जारी पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रणालीको मिश्रित अवस्था केही कमजोर हुने बताइए पनि सोमबारसम्म वर्षाको संभावना रहेको जनाएका छन् ।
मनसुन अगाडिको मौसमी गतिविधि( प्रिमनसुन) को समय छोटो हुने हुने र उक्त अवधिमा धेरै वर्षा हुने र धेरै हावाहुरी चल्ने भएकाले सजग भएर यात्रा गर्नु पर्ने मौसमविद्ले सुझाएका छन् ।
अवरुद्ध सडक

शनिवार बिहान धुलिखेल र बर्दिबास जोड्ने बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जनाएकामा मध्यान्हमा आएर प्राधिकरणले उक्त मार्गलाई स्थानीय निकाय, सुरक्षाकर्मी र सडकका कर्मचारीहरुले पहलमा खुलाइएको जनाएको छ ।

प्रहरीका अनुसार डडेलधुराको केआई सिंह राजमार्गमा आएको पहिरोका कारण एकतर्फी सडक संचालन भइरहेको छ ।
त्यसैगरी सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा समेत पहिरोले अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको बताइएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुम पूर्वमा हिमपातका कारण सवारीसाधनहरु फसेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर अधिकांश ठाउँमा बादल लाग्नुका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा तथा हिमपात भइरहेको छ।

विभिन्न स्थानमा २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटर वर्षा भएमा त्यसलाई भारी वर्षाका रूपमा गणना गर्ने गरिन्छ ।
विभागले जारी गरेको तीन दिनको पूर्वानुमानसहित बुलेटिनमा सोमवार दिउसो देशको पहाडी र हिमाली भू–भागमा बादल लाग्ने र तराई भू–भागमा बादल सहित वर्षाको संभावना रहेको जनाएको छ ।

Exit mobile version