सबै समाचार

अमेरिकामा उल्का पिण्ड झर्यो

काठमाडौं– अमेरिकामा उल्का पिण्ड खसेको छ ।

शनिबार राति अमेरिकाको ह्युस्टन क्षेत्रको एउटा घरको छतमा उल्का पिण्ड खसेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उक्त पिण्डले एक स्थानीयको दुईतल्ले घरको छतमा खसेर क्षति पुर्याएको बताइएको छ । उक्त उल्का पिण्ड ठूला मानिसको हातको पञ्जाभन्दा ठूलो आकारको भएको बताइएको छ । यो उल्कापिण्ड विशाल उल्कापिण्डको टुक्रा भएको हुन सक्ने अनुमान छ ।

स्थानीय समय अनुसार दिउँसो ४ बजेर ४० मिनेटको समयमा ह्युस्टनको उत्तर–पश्चिममा पर्ने स्टेजकोच भन्दा ४९ माइल माथि उक्त उल्का देखिएको थियो । नासाका अनुसार ३५ हजार माइल प्रतिघण्टाको गतिमा दक्षिण–पूर्वतर्फ बढिरहेको थियो । नासाले आफ्नो पोस्टमा लेखेको छ, करिब १ टन तौल र ३ फिट व्यास भएको उक्त उल्का विखण्डन हुँदा निस्किएको चापको लहरका कारण त्यस क्षेत्रका स्थानीयले ठूलो आवाज सुनेका थिए । ह्युस्टन क्षेत्रका स्थानीयले आकाश सफा भए तापनि मेघ गर्जेको जस्तो थर्काउने आवाज सुनेको बताएका थिए ।

हप्ताको सुरुमा पनि करिब ७ टन तौल भएको र ४५ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको एउटा क्षुद्रग्रह अमेरिकाका विभिन्न राज्यहरूमा देखिएको बताइएको छ ।

त्यसैगरी, गत जुन महिनामा पनि दक्षिण–पूर्वी अमेरिकामा एउटा चम्किलो उल्का देखिएको र जुन जर्जियामा विस्फोट भएको थियो । त्यसबेला पनि स्थानीयले यस्तै ठूलो आवाज सुनेको बताएका थिए ।

Exit mobile version