नुवाकोट–हिमानी ट्रष्टले नुवाकोटको उत्तरगया गाउँपालिका–५ का बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । ट्रष्टकी अध्यक्ष युवराज्ञी हिमानी शाहले बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्दै विपद्मा परेका नागरिकप्रति सद्भाव, सहयोग र मानवीय सेवाभाव व्यक्त गर्नुभएको हो ।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको कार्यक्रममा स्थानीयले हिमानी ट्रष्टको सहयोगप्रति आभार व्यक्त गरेका थिए । विपद्का कारण समस्यामा परेका परिवारलाई राहत वितरण गर्नु मानवीय सेवाको उदाहरण भएको स्थानीयको भनाइ छ ।
यसैबीच,उत्तरगयाधाम, बेत्रावतीमा आयोजित पितृमोक्ष तथा शान्ति अनुष्ठानमा युवराज पारस शाह पनि सहभागी हुनुभएको छ । बिहीबार उत्तरगयाधाम पुग्नुभएका शाहले पूजा–आराधना गरी त्रिशूली नदीमा जल अपर्ण समेत गर्नु भई धार्मिक आस्था प्रकट गर्नुभएको थियो ।

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्ति तथा मोक्ष प्राप्तिको कामना गर्दै उत्तरगया धाममा वैदिक विधिअनुसार पितृमोक्ष तथा शान्ति अनुष्ठान आयोजना गरिएको हो ।
कार्तिक १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने उक्त अनुष्ठानको उद्देश्य उत्तरगया धामको धार्मिक महत्त्वको पुनर्जागरण, संरक्षण तथा धार्मिक उत्थान गर्नु रहेको आयोजक श्री गोरखनाथ पीठ, सिद्धाचलस्थली, मृगस्थली, काठमाडौंले जनाएको छ ।
बाढीबाट प्रभावित परिवारलाई राहत वितरण र दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित धार्मिक अनुष्ठान आयोजना हुनु उत्तरगया क्षेत्रका लागि विशेष महत्वपूर्ण बनेको छ ।
एकातर्फ हिमानी ट्रष्टमार्फत विपद् परेका नागरिकलाई सहयोग गरिएको छ भने अर्कोतर्फ उत्तरगयाधाममा धार्मिक आस्था, पितृमोक्ष र शान्तिको कामनासहित अनुष्ठान सञ्चालन भइरहेको छ ।
स्थानीयले बाढीपीडित परिवारप्रति देखाइएको सद्भाव र उत्तरगया धामको धार्मिक महत्त्वलाई उजागर गर्ने कार्यप्रति आभार व्यक्त गरेका छन् । मानवीय सेवा, धार्मिक आस्था र सांस्कृतिक संरक्षणको भावनाले उत्तरगया क्षेत्रको यो कार्यक्रम विशेष बनेको छ ।
उत्तरगयाधाममा पारस शाहको धार्मिक सहभागिता र हिमानी ट्रष्टको राहत वितरणले मानवीय संवेदना तथा धार्मिक आस्थाको सन्देश प्रवाह गरेको छ ।