काठमाडौं– गएको भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका ६३ शिक्षण संस्थाका १४ हजार ५०० भन्दा बढी बालबालिकाको पढाइ प्रभावित भएको छ । त्यसमध्ये प्रत्यक्ष प्रभावित ९ हजार ४३० विद्यार्थी छन् ।
रसुवामा मात्रै १८ विद्यालय प्रभावित भएका छन् । ११ विद्यालय भवन ध्वस्त र ७ वटा आंशिक क्षतिग्रस्त छन् । अहिले धेरै विद्यालयमा वैकल्पिक व्यवस्था गरेर कक्षा सञ्चालन हुन थाले पनि गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मोका विद्यालयमा पढाई अझै पूर्ण रूपमा सहज हुन सकेको छैन ।
सबैभन्दा पीडादायी अवस्था रसुवाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको छ । विद्यालयका ३५ विद्यार्थीमध्ये २५ जना अझै सम्पर्कविहीन छन् ।
रसुवाका ३ सरकारी र १ निजी गरी ४ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त हुनुका साथै ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् ।
शिक्षा तथा समन्वय इकाईका अनुसार बेपत्ता हुनेहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूतका ११, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका ८ र चिप्लेटी आधारभूतका १ जना विद्यार्थी रहेका छन् ।
पढाउन जाने बाटो नभएकाले जानै सकिएको छैन,रसुवाका लिगलिग प्राविका एक विद्यालयका शिक्षकले भने, विद्यार्थी कता छन् । थाहा छैन । उनको विद्यालय भने थोरैले बाढीबाट जोगिएको छ । केही विद्यालयले वैकल्पिक भवनमा पढाइ थालेका छन् ।
नुवाकोट सदरमुकाम नजिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा समेत अस्थायी संरचनाबाट कक्षा सुरु भएको छ । यो पुरै नष्ट भएको ठूलो विद्यालय हो । तर कतिपय विद्यालयमा राहत सामग्री राखिएकाले पढाईमा समस्या छ । विद्यालयमै थुपारिँदा रसुवाको नीलकण्ठ माविमा नियमित पढाइ प्रभावित छ ।
बाढीपछि विद्यालय खुले पनि धेरै बालबालिकाका लागि किताबकापीभन्दा पहिले सुरक्षित घर र हराएका अभिभावकको खोजी ठूलो चिन्ता छ ।
प्रतिक्रिया