काठमाडौं–समृद्धिका लागि सुनाखरी भन्ने नारा सहित तीनदिने अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन काठमाडौमा आयोजना हुने भएको छ ।
आगामी मंसिर २ देखि ४ गते(नोभेम्बर १८ देखि २०) सम्म अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुन लागेको हो ।
अंग्रेजीमा अर्किड्स र नेपालीभाषामा सुनाखरी वा सुनगाभा नामले समेत चिनिन्छ ।
उक्त सम्मेलनमा १५ देशका वैज्ञानिक तथा संरक्षणकर्मीहरुको सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
‘समृद्धिका लागि सुनाखरी’(अर्किड्स फर प्रोस्पेरिटी) नारासहित आयोजना हुने सम्मेलनमा १५ भन्दा बढी देशका १५० भन्दा बढी वैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञ, संरक्षणकर्मी तथा बागवानी विज्ञ सहभागी हुने आयोजकले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभाग, काठमाडौंस्थित अन्नपूर्ण रिसर्च सेन्टर र बेल्जियमस्थित इन्टरनेसनल सोसाइटी फर हर्टिकल्चरल साइन्स (आईएसएचएस) को संयुक्त आयोजनामा सम्मेलन गर्न लागेको हो ।
सम्मेलन काठमाडौंस्थित बुढानीलकण्ठ पार्क भिलेज रिसोर्टमा हुने हुने छ । सम्मेलनमा मौखिक ४६ वटा वैज्ञानिक प्रस्तुति गरिने र १६ वटा पोस्टरमार्फत प्रस्तुति हुने आयोजकले जनाएका छन् ।
सम्मेलन संयोजक प्रा.डा. विजया पन्तले जनाए अनुसार सुनाखरीको जैविक विविधता संरक्षण, प्रवद्र्धन प्रविधि, औषधीय प्रयोग तथा सुनाखरीको दिगो व्यावसायिक उपयोगका बारेमा छलफल गरिने छ ।
यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबीच वैज्ञानिक सहकार्य र ज्ञान आदानप्रदानका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने, अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि र अर्किडमा आधारित उद्यमको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।
जैविक विविधताका हिसाबले नेपाल अत्यन्तै धनी मुलुक रहेको छ । यहाँ सुन्दर र आकर्षक फूल सुनगाभा (सुनाखरी वा अर्किड) को ठूलो विविधता पाइन्छ ।
नेपालमा पाइने सुनगाभाका प्रजातिहरू
नेपालमा हालसम्म ५०० भन्दा बढी प्रजातिका सुनगाभाहरू भएको तथ्यांक छ । वनस्पतिविद्हरूको पछिल्लो अनुसन्धान र वैज्ञानिक प्रतिवेदनहरूका अनुसार नेपालमा १०४ भन्दा बढी वंश र अन्य ५०१ देखि ५०७ सम्मका प्रजातिहरू भेटिएका छन् । त्यसमध्ये १९ देखि २० वटा प्रजातिहरू विश्वमै दुलर्भ र कतै पाइँदैन । यी सुनाखरी नेपालका रैथाने प्रजाति हुन् । यहाँ पाइने सुनगाभाहरू जमिनमा उम्रिने, रूखको हाँगा वा बोक्रामा उम्रिने र ढुंगामा उम्रिने गरी विभिन्न प्रकारका छन् ।
नेपालमा पाइने स्थान
सुनगाभा नेपालको तराईको समथर भूभाग समुद्री सतह ६० मिटरदेखि उच्चहिमाली क्षेत्र ५ हजार २०० मिटरसम्म फैलिएको छ । भौगोलिक आधारमा हेर्दा अन्नपूर्ण संरक्षण क्षेत्र सुनगाभाका लागि अत्यन्तै प्रसिद्ध छ । यहाँ २२४ भन्दा बढी प्रजातिहरू भएको तथ्यांक छ । त्यसैगरी ललितपुरको गोदावरी–फूलचोकी वन क्षेत्र, काठमाडौँ उपत्यकाका वन क्ष्ँेत्र ८० भन्दा बढी जंगली सुनगाभा पाइन्छन् । व्यवसायिक रूपमा सुनगाभा खेतीका लागि पनि गोदावरी मुख्य केन्द्र रहेको छ ।
त्यसैगरी कास्की, पर्वत र स्याङ्जाको संगम पञ्चासेलाई सुनाखरीको अधिराज्य मानिन्छ । यहाँ मात्रै ११३ भन्दा बढी प्रजातिहरू पाइन्छन् । सुनाखरी पाइने अन्य जिल्लाहरूमा इलाम, ताप्लेजुङ, संखुवासभा, भोजपुर, धादिङ, पाल्पा, डोटी र जाजरकोट पहाडी तथा हिमाली जिल्लाहरुमा सुनगाभा पाइने स्थान हुने ।
विश्व बजारमा उपयोगिता
विश्वभर सुनगाभालाई केवल एउटा सुन्दर फूलको रूपमा मात्र नभई बहुआयामिक उपयोग रुपमा हेरिन्छ ।
औषधीयगुणको रुपमा ः नेपालमा पाइने सुनगाभामध्ये १०० भन्दा बढी प्रजातिहरू औषधीय गुणयुक्त छन् ।
विश्वभर विशेषगरी परम्परागत चिनियाँ औषधि र आयुर्वेदिक पद्धतिमा यसको जरा, डाँठ र गानोबाट दम, खोकी, ज्वरो, हड्डी सड्किएको र स्फूर्तिको लागि औषधि बनाइने गरएको छ ।
सजावटको रुपमा ः विश्वको फूल व्यवसायमा सुनगाभाको हिस्सा ठूलो छ । यसको आकर्षक र लामो समयसम्म नओइलाउने फूलहरू घर, होटल तथा समारोहहरू सजाउन उच्चमूल्यमा खरिद–बिक्री हुने गरेका छन् ।
खाद्य तथा सुगन्ध उद्योग ः सुनगाभा परिवारकै एक प्रजातिबाट विश्वप्रसिद्ध भेनिला लेभर निकालिन्छ । यो आइसक्रिम, केक, चकलेट र बहुमूल्य अत्तर(परफ्युम)हरूमा प्रयोग गरिन्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य प्रति केजी ५०० डलरसम्म पर्ने बताइएको छ ।
सौन्दर्य प्रसाधन ः अचेल अन्तर्राष्ट्रिय बजारमा एन्टी–एजिङ (बुढ्यौली रोक्ने) क्रिम, सिरम र छालाको हेरचाह गर्ने सौन्दर्य सामग्रीहरूमा सुनगाभाको अर्क प्रयोग गर्ने क्रम बढ्दो छ । सुनगाभाको उच्च व्यापारिक र औषधीय महत्वका कारण यसको अवैध संकलन र तस्करी पनि हुनेगरेको छ । त्यस कारण यो वनस्पति अन्तर्राष्ट्रिय महासन्धि साइटिसको अनुसूचीहरूमा सूचीकृत गरी यसको ओसारपसार र व्यापारमा कडा प्रतिबन्ध वा नियमन गरिएको छ ।
प्रतिक्रिया