काठमाडौं– सरकारले जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि भोटेकोशी–त्रिशूली नदीमा संचालन गरेको खोज तथा उद्धार कार्य स्थगित गरेको छ । गत भदौ १० गतेदेखिको ४० दिनदेखि जारी खोज तथा उद्धार सोमबारबाट स्थगित गरेको हो ।
सरकारको बाढीबाट प्रभावितको पुनस्र्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण कार्यमा केन्द्रित हुने जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य स्थगित गरी पुनर्निर्माण तथा पुनस्र्थापनालाई प्राथमिकता दिने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस तथा स्थलगत अध्ययनका आधारमा उक्त निर्णय लिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सरकारले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ५०४ योजना तथा कार्यक्रम संचालन गर्न ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपियाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि थप बजेट व्यवस्थाका लागि सिफारिस गर्न प्राधिकरणलाई निर्देशन समेत दिइएको छ ।
सरकारले पुनर्निर्माण र पुनस्र्थापनाको काम पनि तीनै तहका सरकारको समन्वयमा अघि बढाइने जनाएको छ । अब पुनस्र्थापना, सुरक्षित आवास, क्षतिग्रस्त सडक, पुल लगायत पूर्वाधारको पुनर्निर्माण र प्रभावित क्षेत्रको दीर्घकालीन पुनरुत्थानमा जोड दिइने सरकारको उद्देश्य रहेको छ । साथै पूर्वसूचना प्रणाली सुदृढ बनाउने र हिमपहिरोको जोखिम न्यूनीकरणका लागि काम अघि बढाउने निर्णय सरकारले गरेको छ ।
बाढीमा परेर १४५६ जनाको मृत्यु, ४७१८ जना अझै बेपत्ता
प्रहरीको तथ्यांक अनुसार विनासकारी बाढीमा परी हालसम्म १ हजार ४५६ जनाको मृत्यु भएको छ भने ४ हजार ७१८ जना अझै बेपत्ता छन् । मृत्यु र बेपत्ताको गरी ६ हजार १७४ जना प्रभावित छन् ।
प्रभावित १ हजार २२६ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ । बाढीमा परेर सबैभन्दा बढी चितवनमा ३६९ जनाको शव फेला परेको थियो । रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२ र नुवाकोटमा २०४ शव फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी गोरखामा ८०, धादिङमा ७३ र तनहुँमा ३८ शव फेला परेका थिए ।
पहिचान तथा कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ । मृतक तथा आफन्त गरी ३ हजार ४१३ जनाको डिएनए नमुना संकलन गरिएको छ । अझै १४३० शवको हुलिया तथा विवरण प्राप्त नभएकाले पहिचान भएको छैन । डिएनए परीक्षण तथा पहिचानको प्रक्रिया भने जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि खोज तथा उद्धार, शव संकलन, प्रभावितको स्थानान्तरण, राहत वितरणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तहका संयन्त्र परिचालित भएका थिए ।
प्रतिक्रिया