काठमाडौँ–मौसम बदलीसंगै पश्चिम नेपालमा हिउ“ परेको छ ।
पश्चिमका हिमालीभागदेखि गण्डकी प्रदेशका जिल्लाहरुमा शनिबार बिहानैदेखि हिमपात भएको हो ।
सदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लाका बस्तीहरु सेताम्मेत भएका छन् । ती भेग भदौपछि वर्षा भएको थिएन ।

हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, बझाङ, डडेलधुरा, जुम्ला, रुकुम,गोरखा लगायत वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिमपात भएको छ । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको माथिल्लो भेगमा हिउ“ र तल्लो क्षेत्रमा भने वर्षा भएको छ ।
हिमपातले चिसो बढेपछि जनजिवन कष्टकर बनेको छ । हिमपात र वर्षासँगै राजमार्गहरु ठाउँठाउँमा अवरोध भएको छ ।
यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । नेपालको पश्चिमी क्षेत्रमा चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरु बालीलाई सिंचित भई सप्रिने भन्दै खुसी भएका हुन् ।
लुम्बिनी प्रदेशको जिल्ला रुकुम पूर्वमा पनि हिमपात भएको छ । हिमपातले उक्त ठाउँको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपनि डोजरले खोल्ने प्रयास जारी छ ।