काठमाडौ–नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि सार्वजनिक गरिएको मतदान कार्यक्रम वर्षा र प्राविधिक कारणले ३ घंटा ढिला हुने भएको जनाए । उनका अनुसार बिहीबार बिहान १० बजेदेखि मतदान हुने र त्यसका लागि मतदानस्थल ३ र मतदान केन्द्र ७ वटा तोकिएको जनाए ।
प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदानस्थल तोकेको छ ।
राष्ट्रिय सभागृहमा – बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गने छन् ।
त्यसैगरी खुलामञ्चमा–कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
खुलामञ्चमा– भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले मतदान गर्ने छन् ।
प्रज्ञा भवनमा–गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने छन् । प्रतिनिधिहरुले तोकिएको मतदानस्थलको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया