October 28, 2026
मुख्य समाचार सबै

नेपालमा खोज तथा उद्धार रोकिंदा चीनतर्फ अझै ५१९ बेपत्ताको खोजी जारी

काठमाडौं–गत भदौ १० मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले दुवै देशमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ ।

नेपालतर्फ रसुवाको लाङटाङ हिमालको उत्तरी क्षेत्रबाट सुरु भएको हिमचट्टान तथा हिमनदीजन्य घटना भोटेकोशी–त्रिशूली नदीमा भीषण बाढीको रूपमा फैलिएपछि रसुवासहित नुवाकोट, धादिङ र गोरखासम्म ठूलो क्षति पुगेको थियो । चीनतर्फ यही घटनाले तिब्बतको जिलोेङ काउन्टीस्थित सीमावर्ती क्षेत्रमा ठूलो पहिरो र बाढी निम्त्याएको थियो ।


नेपाल सरकारले हाल सक्रिय खोज तथा उद्धार अभियान स्थगित गरी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा ध्यान केन्द्रित गर्ने निर्णय गरिसकेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा बाढी तथा पहिरोमा १ हजार ४५५ जनाको मृत्यु भई सकेको छ भने ५ हजार २८५ जना अझै बेपत्ता रहेको जनाइएको छ । यद्यपि पुनर्निर्माणका क्रममा मानव अवशेष वा अन्य प्रमाण भेटिएमा त्यसको उद्धार तथा पहिचान गर्ने काम भने जारी रहने सरकारले जनाएको छ ।


४३ जनाको मृत्यु भएको र ५१९ जना अझै बेपत्ता
उता, चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत जिलोेङ काउन्टीमा गएको पहिरोमा ४३ जनाको मृत्यु भएको र ५१९ जना अझै बेपत्ता रहेको पछिल्लो विवरण सार्वजनिक गरेको छ । बेपत्तामध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेको बताइएको छ ।


चीनतर्फ उद्धार तथा खोजी कार्यसँगै बेपत्ताको पहिचानका लागि काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गर्नुका साथै डीएनए पहिचान र सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ । यसअघि चीनले नेपालतर्फ पनि सुरुङ उद्धार विशेषज्ञ र आपत्कालीन राहत सामग्री पठाएको थियो ।
नेपालमा बाढीपछि भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो संख्यामा विदेशी पर्यटक तथा तीर्थयात्री प्रभावित भएका थिए ।

रसुवाको टिमुरे तथा भोटेकोशी क्षेत्रबाट मात्रै प्रारम्भिक चरणमा २७ विदेशी पर्यटकको उद्धार गरिएको थियो भने त्यसपछि उद्धार गरिएका विदेशीको संख्या थप बढेको थियो ।
यस विपद्को विशेषता के हो भने एकै प्राकृतिक घटनाको प्रभाव नेपाल र चीन दुवैतर्फ परेको थियो। नेपालतर्फ बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पु¥यायो भने चीनतर्फ जिरोङ सीमा नाका र आसपासका संरचना पहिरो र बाढीले पुरिएका थिए ।

जिलोङमा बनेको अस्थायी ताल र त्यसबाट निस्किएको पानीले समेत भोटेकोशी र त्रिशूलीको बहावमा असर पु¥याएको थियो ।
नेपालमा सक्रिय खोजी अभियान रोकिए पनि चीनतर्फ ठूलो संख्यामा बेपत्ता रहेकाले खोजी तथा पहिचानको काम अझै चुनौतीपूर्ण बनेको छ । यस घटनाले नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा हिमनदी, पहिरो, नदी र बाढीको जोखिमलाई संयुक्त रूपमा निगरानी गर्ने तथा पूर्वसूचना प्रणाली बलियो बनाउने आवश्यकता पनि उजागर गरेको छ ।

प्रतिक्रिया