काठमाडौं–मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने राजा ज्ञानेन्द्र शाहले धारणा व्यक्त गर्नु भएको छ । ७६औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश मार्फत उहाँले यस्तो धारणा राखेका हुन् ।
प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको उहाँले बताउनु भएको छ ।
उहाँले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै आउँदै गरेको फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रूपमा आग्रह गर्नु भएको छ ।
‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि । यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ,’ उहाँले भन्नु भएको छ, ‘मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो ।’
करिब ८ मिनेट लामो भिडियो सन्देशमा राजा शाहले प्रजातन्त्र स्थापनामा सघाउने राजा त्रिभुवन तथा सहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्नु भएको छ ।
उहाँले मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्चे अवस्था आउनु दुखद् भएको पनि बताउनु भएको छ । ‘वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन, मिलेर जाऔं भन्ने सोचेले मुलुकलाई नयाँ गति दिन सकिन्छ’ उहाँले भन्नु भएको छ, ‘यतिखेरको आम जनभावना यही छ कि पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान गरियोस् र त्यसपछि मात्र निर्वाचन प्रक्रियातर्फ अघि बढियोस् ।’
हाल देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाको जञ्जिरमा बाँधिएको, जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो नहुने उहाँले भन्नु भयो ।
अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उहाँले बताउनु भयो ।
उहाँले झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा आफूलाई स्वागत गर्नेहरुप्रति धन्यवाद दिनु भएको छ ।
उहाँले, ‘देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको छ, संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।’
प्रतिक्रिया