May 30, 2026
मुख्य समाचार

खेलकुद,फोटोपत्रकारहुँदै खलनायक बनेका थापा,उर्फ राते काइँला सदालाई भए ब्रम्हलिन

काठमाडौं–जति बलियो ‘भिलेन’ हुन्छ, त्यति नै शक्तिशाली ‘हिरो’ हुन पाउँछ। यसअर्थमा उम्दा अभिनय, चोटिलो संवाद उच्चारणमा सुनिने ‘बोल्ड आवाज’का धनी अभिनेता सुनील थापा नयाँ र पुराना पुस्तामाझ सधैं लोकप्रिय थिए। उनै अभिनेता माघ २४ गते शनिबार बिहान सदासदालाई ब्रह्मलिन भए।

शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका उनलाई शनिबार बिहान नर्भिक अस्पताल पु¥याइएको थियो । नर्भिकमा उपचारको क्रममा सुनिलको निधन भयो । ‘राम नाम सत्य’ निर्देशन गरिरहेका माइकल चन्दलाई अहिले पनि लागिरहेको छ, ’कतै यो सपना त हैन ?’ शुक्रबार बेलुका फिल्मको अन्तिम सिन खिच्नुपर्ने भयो । त्यो सिनमा सुनिललाई चितामा राखेर जलाउनुपर्ने थियो । सुनिलले माइकललाई भनेका थिए, ‘यो सिन राम्रो छ अब भोलि बिहान गरौं ।’ राति १० बजे सुटिङ प्याकअप भयो । बिहान ७ बजे सुटिङ गर्ने योजनासहित सुनिल घर गए । ‘मैले दाइसँग बस्ने मान्छेलाई बिहान ७ बजे अलार्म बज्छ, उठाइदिनु भनेको थिएँ । हामी चिताको सिनका लागि दाइलाई नै पर्खिरहेका थियौँ । बिहान अलार्म त बज्यो, तर दाइ उठ्नुभएन,’ माइकल सुँक्सुकाउँदै भन्छन् ।
माइकललाई शुक्रबार निर्णय बदलेको कुराले पिरोलिररहेको छ । ‘केहीबेरको जलाउने सिन मात्र बाँकी थियो, कतै हामीले भोलिको लागि सारेर पाप त गरेनौं, ’ उनी ग्लानीजडित पीडा पोख्छन्, ‘नत्र जुन सिन बाँकी थियो, आज त्यस्तै घटना कसरी…?’

यतिखेर उनको निधनले नेपाली र भारतीय चलचित्र तथा श्रृङ्खला जगतमा ठूलो क्षति पुगेको छ। उनको निधनले सिंगो फिल्म उद्योग रिक्त्तताको अनुभूति गरिरहेको छ। छायांकनस्थलमा मौन उभिँदा पनि अभिनय गरिरहेको देखिने थापा ६८ वर्ष बाँचे। जति बाँचे आफ्नो प्रभावशाली अभिनयले दर्शकको मन जितेर बाँचे। अनुशासित कलाकार भएर बाँचे ।

थापाको अन्त्येष्टि भोलि आइतबार
दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र हुने भएको छ ।
थापाको परिवार मुम्बईबाट आउन ढिला भएका कारण उनको अन्त्येष्टि भोलि मात्र हुने भएको हो । परिवारजन शनिबार दिउँसै नेपाल आउने बताइए पनि साँझ नआइपुगेका कारण आज अन्त्येष्टि हुन नसकेको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । अन्त्येष्टिअघि थापाको शव अन्तिम श्रद्धाञ्जलिका लागि केही समय चलचित्र विकास बोडमा राखिने निरौलाले जानकारी दिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

मुम्बईदेखि
वि.सं. २०१२ सालमा जन्मिएका थापाको अभिनय यात्रा भने बलिउड नगरी मुम्बईबाट सुरु हुन्छ। बुवा गणेश गुरुङले गल्लावालाहरुलाई ‘थापा’ थर लेखाई ब्रिटिस भारतीय लाहुरे भएका थिए। बुवा लाहुरे भएपछि सुनीलको किशोर उमेर भारतमा नै बित्यो। विशेष गरी मुम्बईमा बित्यो। उतै अंग्रेजी मिडियम स्कुलमा पढे। सुनील पढाइमा भन्दा पनि खेलकुदमा बढी रूचि राख्थे। उनी फुटबल खेल्थे। क्रिकेट रूचाउँथे।
‘कलाकार नभएको भए खेलाडी हुन्थे हुँला,’ उनले भनेका थिए। प्रतिभाशाली सुनिल आफूलाई व्यस्त राख्न रुचाउँथे। मुम्बई नगरीमा खेलकुद खेलेर बचेको समय जेएस म्याग्जिनमा फोटोग्राफी पनि गर्थे। त्यहाँका आईसीएल क्लब बम्बे तथा ओर्केज स्पोट्र्स क्लबसँग पनि खेल्थे। मोडलिङसँगै ‘जुनियर स्टेट्सम्यान म्यागजिन’ मा फोटो पत्रकार बने। सन् १९७४ को भुटानमा भएको राज्याभिषेकको कभरेज गरे। उनले नेशनल जिओग्राफ्रीमा लागि पनि काम गरे। यस्तैमा एकदिन उनले आफ्नै फोटो सुट गरे। उनको फोटो देखेर बलिउडका प्रख्यात अभिनेता देव आनन्दले भनेका थिए– ‘तिमी साह्रै सुन्दर रहेछौँ मोडलिङ गर।’

प्रकाश सायमीका अनुसार फिल्ममा पहिलो पटक देव आनन्दले ‘साहेब बहादुर’मा ब्रेक दिएका थिए। उनी लेख्छन्, ‘देव आनन्दलाई खूब आदर गर्थे उनी। देव आनन्दको ‘रोम्यान्सिङ् विद् लाइफ’को विमोचनमा देव आनन्दलाई भेट्न हामी सँगै गएका थियौँ।’

सुनीलले खेलकुद, मोडलिङ र फोटोग्राफीलाई सँगसँगै अगाडि बढाए। यस्तैमा उनी फुटबल खेल्न टिममा मद्रास पुगे। सात दिनका लागि फुटबल खेल्न पुगेका सुनीलले एक दिन समय लिएर साउथ भारतका प्रख्यात फिल्म मेकर निर्देशक कैलाशन बालाचन्द्रसँग भेटे। फिल्ममा काम गर्न चाहेको बताए। त्यसपछि सुनील मुम्बई फर्किए। केही समयपछि उनै निर्देशकले सन् १९८१ मा फिल्म ‘एक दुजे के लिए’ का लागि नकारात्मक पात्रको लागि अफर गरे। सुनीलको बलिउडमा अभिनय करिअर सुरु भयो।
मिथुन चक्रवती, रजनीकान्त, जितेन्द्र, श्रीदेवीजस्ता कलाकारलाई ब्रेक दिएका निर्देशकले उनलाई काम दिएका थिए। आफ्नो अभिनयको जादु यसरी छोडे सुनीलले कि उनी मुम्बईबाट दिल्ली हुँदै नेपाल आउँदै थिए। अचानक एक मान्छेले फिल्म ‘एक दुजे के लिए’ नाम लिएर सुनीलको अभिनयको तारिफ नै गरे। सुनील छक्क परे। र ती मानिसले भने, ‘मैले तपाईंकै लागि भनेर एउटा कथा लेखेको छु। खेल्नु हुन्छ?’
सुनीलले नाइँ भन्न सकेनन्। नेपाल यात्रालाई दिल्लीमै रोकेर मुम्बई फर्किए। उनी फर्किएर उनै मानिसले दिएको ठेगानामा भेट्न गए। उनी थिए– फिल्म निर्देशक रविकान्त नबाइज।
यसरी ‘मानव हत्या’, ‘आजकी आवाज,’ ‘अलबेला,’ ‘नसिबवाला,’ ‘मनु द ग्रे’ जस्ता फिल्मले दर्शकको मन जिते।
सुनील खेलाडी पनि भएकाले सन् २०१४ मा बनेको ‘मेरी कोम’मा प्रियंका चोपडाको प्रशिक्षकको अर्थात गुरुको भूमिका गरेका थिए। र मेरी कोमले बक्स अफिसमा राम्रो कमायो।
मेरी कोममा सुनिलको अभिनयलाई लिएर डिएनए इण्डियाकी सरीता ए तनवारले भनेकी छन्, ‘मेरी कोममा निकै उत्कृष्ट सहायक भूमिका छन् सुनील। मेरीका अभिभावक, प्रशिक्षक (सुनील थापा) देखि श्रीमान् दर्शन कुमारसम्म। यसकारण भन्नैपर्छ कि मेरी कोम केवल बक्सिङसम्बन्धी फिल्म मात्र होइन अरु धेरै हो।’

नेपाली फिल्म यात्रा
नेपाली भाषाको पहिलो फिल्म ‘मशाल’ खेलेका थिए सुनीलले। सिक्किमका फिल्म मेकरहरुले बनाएको ‘मशाल’ले राम्रै प्रशंसा पायो। दर्शकले रुचाए। तर, नेपालमा भने त्यो फिल्म चल्न पाएन।
स्थापित कलाकारका रूपमा बलिउडमा व्यस्त थापाले नेपाली फिल्म नै खेल्न रहर गरे। रहर गरेर पटक–पटक नेपाल आउँदा पनि काम गर्ने अवसर जुरेको थिएन। मुम्बईमा बसेर काम गरिरहेका कलाकार, निर्देशक, लेखक तुलसी घिमिरे फिल्म ‘चिनो’ बनाउने तयारीमा लागे। कलाकार छनोट भयो।

नकारात्मक भूमिकाका लागि सुनील थापा खोजियो। सुनील थापाले कथा सुने। फिल्म बन्यो। चल्यो। उनी अभिनित फिल्म ‘चिनो’ सुपर हिट भयो। अझ त्योभन्दा पनि यादगार बन्यो, उनले निर्वाह गरेको पात्र– राते काइँला। यो भूमिकाले दर्शक र समीक्षक दुवैको मन जित्यो। त्यसपछि उनलाई सुनील थापा उर्फ ‘राते काइँला’ भनेर चिन्न थाले।
यसै फिल्ममा उनको ‘यो कुरा मलाई मन प¥यो, यो कुरा मलाई मन परेन’ भन्ने संवाद यति लोकप्रिय भयो कि थापालाई नेपाली दर्शकले धाराप्रवाह मन पराइदिए। उनी नेपाली फिल्मबाट फर्किन चाहेनन्। उनको कर्मथलो नै काठमाडौँ बन्न थाल्यो। नकारात्मक पात्र भन्नेबित्तिकै सुनीलको छाया–छवि दिमागमा घुम्न थाल्यो।
सुनीलले राँको, सपना, परिभाषा, गोर्खा पल्टन, शिकारी, पापी मान्छे, देवर बाबू, कर्म योद्धा, मेरी बास्सै हाँस्य टेलिश्रृंखलामा समेत काम गरे।
आफ्नो अभिनयमा सधैँ विविधता ल्याए उनले। सशक्त अभिनय, प्रतिबद्धता र अनुशासनमार्फत नेपाली फिल्म क्षेत्रमा उनको योगदान सदैव सम्मानीय छ। अवस्मरणीय छ। कामप्रति यति गम्भीर थिए कि आफ्नो पहिलो छोरो जन्मिँदाको खुसीमा सेट छोडेर जान सकेनन्। ‘छोरो जन्मिएको ४३ दिन भयो। आज घर जाँदै छु। बीचैमा जाउँ भने सुटिङ रोकिन्थ्यो। निर्माताको खर्च बढ्थ्यो,’ उनले भनेका थिए।

सुनीलले सन् १९९८ मे ७ तारिखका दिन रजनी सुब्बासित विवाह गरेका थिए।
त्यसैगरी सुनील र फिल्म निर्देशक नारायण पुरीका बीच घनिष्ठता थियो, दुवै एक अर्कालाई मितज्यू भन्थे।

उनको व्यक्तित्वले सधैं नयाँ पुस्तालाई प्रेरणा दिन्छ। उनको अभिनय शैलीलाई पछ्याउनु अबको नयाँ पुस्ताका कलाकारलाई फलामको चिउरा चपाउनु बराबर हो। र पनि उनलाई पछ्याउनेहरु तमाम छन्।
उनी अभिनित फिल्ममा खेल्ने हरेक हिरोलाई सधैं चुनौती हुन्थ्यो कसरी शक्तिशाली बन्ने? त्यसैले उनको अपोजिटमा खेल्ने कलाकार उनीसँग अभिनय गरेपश्चात नायक भएको अनुभूत गर्थे।
अभिनेता राजेश हमालले सुनील थापा असाधारण सहकर्मी रहेको बताएका छन्। हमालले लेखेका छन्– ‘उनको अभाव कहिल्यै पूरा हुन सक्दैन।’ उनीहरूले धेरै नेपाली फिल्ममा सहकार्य गरेका थिए।
अभिनेता भुवन केसी नेपाली चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको बताउँछन्। उनी लेख्छन्, ‘किनकि सुनील नेपाली चलचित्रमा मात्र हैन, भारतीय सिनेमामा पनि स्थापित कलाकार थिए। तर मेरा लागि सुनील कलाकार मात्र थिएनन्, असल मित्र पनि थिए। उनको पहिलो नेपाली चलचित्र चिनोमा सँगै काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरङ्ग क्षण बिताएका थियौँ। मैले निर्माण गरेका चलचित्रहरू ‘सपना’देखि ‘क्याप्टन’सम्ममा पनि हामीले सहकार्य गरेका थियौँ। सुनिल र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ। चाँडै छाडेर गयौ दोस्त। तिमी जहाँ भए पनि नेपाली चलचित्र क्षेत्र र हाम्रो मनमा रहिरहनेछौ।’

त्यसैगरी कलाकार निर्देशक तथा फिल्म वितरक अशोक शर्मा लेख्छन्, ‘नेपाली सिनेमाका खम्बा खलनायक हिरो आदरणीय दाजु सुनील थापाबिनाको फिल्म नै अधुरो र खलो हुनेछ।’
पत्रकार सुरेश पौडेल सुनीलको पहिलो फिल्म ‘एक दुजे के लिए’को सन्दर्भ कोट्याँउदै लेख्छन्, ‘कमल हसन र रति अग्नीहोत्रीको ‘एक दुजे के लिए’ भन्ने सिनेमामा एकजना नेपाली भिलेन छ भनेर उतिबेला भैरहवामा निकै चर्चा चल्यो, कारण– भिडियो देखाइने जमाना थियो, तुरुन्तै गइयो, ५ रुपैयाँ तिरेर दुर्गा अमात्यको भिडियो हलमा उक्त सिनेमा हेरियो, भिलेन जबरदस्त थिए। त्यसपछि नेपाली सिनेमाहरुमा भन्दा पनि सुनील दाइसँग कामकै सिलसिलामा अनेकौँ पटक भेटघाट भयो। जहिले पनि साथीभाइहरुबाट घेरिएको पाउँथे म उहाँलाई। नेपाली सिनेमामै रमेका, नेपाली सिनेमाकै लागि मुम्बईस्थित परिवारभन्दा टाढा आफ्नो पहिलो काम फोटोपत्रकारिता छोडेर नेपालमै बसेका, नेपाली सिनेमालाई माया गर्ने एक कलाकार जसको योगदान नेपाली सिनेमामा अतुलनीय रहने छ।’
चलचित्र तथा सञ्चारकर्मी प्रकाश सायमी नेपाली चलचित्रका एक उत्कृष्ट कलाकारका रुपमा लिन्छन्। उनी लेख्छन्, ‘सुनील, हाम्रो मन मष्तिस्कमा सदैव जीवित रहने छौ द ग्रेट आर्टिस्ट एन्ड ग्रेट ह्युमन विइङ्ग।’
सबै अनलाइनको सहयोगमा

प्रतिक्रिया