September 12, 2026
अर्थ तथा कृषि मुख्य समाचार श्रेणीहरू

ग्यास माग गर्दै प्रदर्शन,मासिक नेपालमा ४५ हजार टन ग्यास चाहिने

काठमाडौं– ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै विद्यार्थीहरूले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन् ।


बबरमहलमा रहेको नेपाल आयल निगम अगाडि संयुक्त विद्यार्थी आन्दोलनले उपभोक्तालाई छिटो ग्यास आपूर्ति गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले छिटो ग्यासआपूर्ति गर्न र नभए वैकल्पिक व्यवस्था गर्न पर्ने, कालोबजारी नियन्त्रण गर्नपर्ने, आकासीयको मूल्यवृद्धि तुरुन्त नियन्त्रण गर्न माग गर्दै नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरूले खाली सिलिन्डर समेत प्रदर्शन गरेका थिए ।
बजारमा ग्यासका लागि उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने, आफूले खोजेको ब्रान्ड नपाउने र कतिपय ठाउँमा खाली सिलिन्डर बोकेर पसल–पसल धाउनुपर्ने अवस्था देखिएको छ । कतिपयले ग्यास नपाएर आत्महत्याको प्रयास गरेका थिए । स्रोतका अनुसार ग्यास वितरणमा सिमित टोकन बाँढ्ेपछि कतिपय रित्तै फर्किन परेको थियो । त्यसैगरी ग्यासमा बढी पैसातिर्नु परेको, माथिल्लो तहका व्यक्तिहरुलाई ग्यास घरमै पुग्ने गरेको ग्यास वितरणमा देखिएको थियो ।

निगमको पछिल्लो तथ्यांकले भने मुलुकमा ग्यासको आयात र आपूर्ति पूर्ण रूपमा रोकिएको अवस्था नरहेको देखाउँछ ।
अहिलेको समस्या ग्यासको कुल आयात अभावभन्दा पनि वितरण प्रणाली, मौसमी माग, ढुवानी र बजार व्यवस्थापनसँग बढी सम्बन्धित रहेको प्रश्न उठाएको छ ।
नेपालमा सामान्य अवस्थामा महिनामा करिब ४५–४६ हजार मेट्रिक टन एलपी ग्यास आवश्यक पर्छ ।
१४ दशमलव २ किलोको एउटा घरेलु सिलिन्डरलाई आधार मान्दा यो परिमाण करिब ३२ लाख सिलिन्डरबराबर हुन्छ । औसतमा दैनिक १ लाख सिलिन्डर बराबरको ग्यास नेपाली बजारमा आवश्यक पर्छ ।
जाडो मौसममा खाना पकाउनेसँगै पानी तताउन ग्यासको प्रयोग बढ्ने भएकाले माग हुने भएकाले यसको माग १५ प्रतिशतसम्म वृद्धि हुने गरेको निगमले जनाएको छ । आयात भइरहेको ग्यास उपभोक्ताको चुलोसम्म सहज रूपमा किन पुग्दैन भन्ने प्रश्न उठिरहेको छ । इण्डियाबाट ग्यास आउनै छाडेको भन्ने हल्ला फैलाएर ग्यासको आयात नघटेको निगमले जनाएको छ ।

महिनामा ४५ हजार टन ग्यास खपत
नेपालको ग्यास बजार महिनामा ४५–४६ हजार टन एलपी ग्यास खपत हुने अनुमान छ । ४५ हजार टनलाई १४.२ किलोग्रामका घरेलु सिलिन्डरमा हिसाब गर्दा करिब ३१ लाख ७६ हजार सिलिन्डर हुन्छ । यसलाई वार्षिक रूपमा हेर्दा नेपालमा ५ लाख ४० हजार टनभन्दा बढी एलपी ग्यास आवश्यक पर्ने अवस्था देखिन्छ ।
ग्यासको मूल्य र आपूर्ति दुवै अन्तर्राष्ट्रिय बजार तथा भारतसँगको आपूर्ति व्यवस्थासँग प्रत्यक्ष जोडिएका छन् ।

ग्यासमा ५ अर्बभन्दा बढी विदेशिंदै
एलपी ग्यासमा नेपालको निर्भरता केवल उपभोक्ताको भान्सासम्म सीमित विषय होइन । यसले नेपालको व्यापार घाटा र विदेशी मुद्रा बाहिरिने अवस्थालाई प्रत्यक्ष प्रभावित गर्छ । आर्थिक वर्ष २०८२÷८३ मा नेपालले करिब ५ लाख ५४ हजार ६१२ मेट्रिक टन एलपी ग्यास आयात गरेको थियो । त्यसका लागि ६२ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम बाहिरिएको तथ्यांक छ ।
यसलाई मासिक औसतमा हेर्दा नेपालले एलपी ग्यास आयातका लागि मात्रै करिब ५ अर्ब २० करोड रुपैयाँ प्रत्येक महिना विदेश पठाइरहेको देखिन्छ ।

ग्यासको विकल्प
नेपालमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढिरहेको छ । अर्कोतिर खाना पकाउन ठूलो परिमाणमा आयातित ग्यास प्रयोग भइरहेको छ ।
नेपालले खाना पकाउने ऊर्जामा अझै दशकौँसम्म आयातित ग्यासमै निर्भर रहने कि विद्युतलाई विकल्पका रूपमा अघि बढाउने भनेर सोच्नु पर्ने विज्ञहरुले जोड दिएका छन् ।
बजामार इन्डक्सन तथा अन्य विद्युतीय चुलोको प्रयोग बढाउन सके एलपी ग्यासको आयात घटाउन सकिने छ । घरायसी खाना पकाउने ऊर्जाको केही हिस्सा मात्रै बिजुलीतर्फ सार्न सकिएमा वार्षिक ग्यास आयात घटाउन सकिने सम्भावना छ ।

प्रतिक्रिया