काठमाडौं–गएको बुधबार रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।
बेपत्ता भएका व्यक्तिका परिवारजनले आफ्नो परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन् ।
बाढी गएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशको शवको प्रतीक बनाएका हुन् । कुशको प्रतीकलाई पशुपतिस्थित आर्यघाटमा दर्जनौँ कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ । आर्यघाटमा एकैपटक दर्जनौँ संख्यामा बेपत्ताका परिवारजन भेला भएपछि दिनभरजसो बाक्लो भीड लागेको थियो । बाढीमा आफन्त गुमाएका परिवारजनका लागि पछिल्ला दिनहरू पीडादायी भएका छन् । पशुपतिस्थित शव दर्ता कार्यालयले जनाए अनुसार बुधबार मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ ।
रसुवा भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म १ हजार २२२ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार रसुवामा मात्रै १२७ शव फेला परेका छन् भने बाढीले बगाएका शव नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीसम्म पुगेका छन् ।
शव फेला परे पनि सबैको सनाखत हुन सकेको छैन । लामो समय पानी, हिलो र गेग्रायनले लागेपछि कतिपय शव क्षतविक्षत तथा केही मानव अवशेषका रूपमा भेटिएका छन् । पहिचानका लागि प्रहरी तथा स्वास्थ्यकर्मीले आफन्तबाट नमुना संकलन लगायत प्रक्रिया अघि बढाएका छन् ।
प्रतिक्रिया