काठमाडौं – नुवाकोटको समुन्द्रफिनी भनेजस्तै जुम्लाको मार्सी धान पाक्ने बेला हुन लागेको छ । तिला र हिमा नदीकिनारका फाँट आकर्षक खैरो रङमा परिणत भइरहेको छ । स्थानीयले पुस्तौँदेखि खेती गर्दै रैथाने मार्सी धानलाई जोगाइरहेका छन् । जुम्लाका किसानको जीविकोपार्जन तथा कृषि र सांस्कृतिक पहिचानसँग जोडिएको छ ।

जुम्लाका ८ वटै स्थानीय तहमा मार्सी धान खेती हुने गरेको छ । पातारासीको छुमचौर, तातोपानीको लाछु ज्युलो, चन्दननाथको शेरा ज्युलो तथा सिञ्जा, हिमा र तिला आसपासका फाँट यसको उत्पादनका प्रमुख क्षेत्र हुन् । छुमचौर विश्वकै उच्च उचाइमा धानखेती हुने चर्चित स्थानका रूपमा परिचित छ । समुद्रीसतहबाट ३ हजार ५० मिटर उचाइसम्म मार्सी धान खेती गरिन्छ । मार्सी धान स्वाद र पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।
जुम्लामा कुल २ हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये १ हजार ६८ हेक्टर अर्थात् करिब ३७ प्रतिशत क्षेत्रफलमा रैथाने मार्सी धान लगाइन्छ । बाँकी १ हजार ८२० हेक्टरमा मुख्यतः उन्नत जातका धान खेती गरिन्छ ।

जुम्लामा मार्सी खेतीको आफ्नै मौसमी पात्रो छ । परम्पराअनुसार चैत १२ गते बीउ पानीमा भिजाइन्छ। चैत १६ गते पानीबाट निकालेर न्यानो ठाउँमा अङ्कुरण गराएपछि चैत २०–२१ तिर ब्याडमा सारिन्छ । मुख्य रोपाइँ जेठमा गरिन्छ भने उचाइ र मौसमअनुसार धान असोज–कात्तिकमा पाकेपछि भित्र्यान्छ । दसैँ–तिहारजस्ता प्रमुख चाडपर्वको समयमा जुम्ली किसान धान काट्न र भित्र्याउन व्यस्त हुने गरेका छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा जुम्लामा ३ हजार मेट्रिक टन मार्सी धान उत्पादन भएको थियो । स्थानीय किसानका लागि यो बाली खाद्यान्न र आम्दानीको स्रोतसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको खेतीको ज्ञान र परम्पराको आधार बनेको छ । मार्सीको विशिष्ट स्वाद र पोषणसम्बन्धी विशेषताका कारण स्थानीय तथा बाह्य बजारमा पहिचान स्थापित भएको छ ।
२०८२ कात्तिकदेखि फागुन मसान्तसम्म १७५ मेट्रिक टन मार्सी चामल बिक्रीका लागि जिल्लाबाहिर पठाइएको र उक्त परिमाणको अनुमानित बिक्री मूल्य ३ करोड ५० लाख रुपैयाँ रहेको छ । मार्सी चामल जुम्लामा १ सय ८० र काठमाडौँमा २ सय ५० रूपैयाँ प्रतिकिलो बिक्री हुने गरेको बताइएको छ । तर मार्सीको मूल्य भने समय, गुणस्तर, प्याकेजिङ र बजारअनुसार फरक हुने गरेको छ ।
साभारः देशसंचार
प्रतिक्रिया