काठमाडौं–चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाहरुमा आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति गरेको छ । पछिल्लो जानकारी अनुसार २१ जनाको मृत्यु र ५ जना बेपत्ता भएका छन् । १५ सयभन्दा बढी स्थानीय विस्थापित भएका छन् । ४४ वटा पशु चौपाया मरेका छन् ।
गण्डकी प्रदेशमा मात्रै १ सय ७९ घर पूर्ण र २६ घर आंशिक क्षतिग्रस्त र २७० घर जोखिममा छन् ।
त्यसैगरी ६ पुल पूर्ण र २ पुल आंशिक गरी ८ वटा पक्की पुल क्षतिग्रस्त भएका छन् । बागलुङ, पर्वत, म्याग्दी, पाल्पा, नवलपरासी पूर्व, तनहुा, मनाङ लगायत जिल्ला बाढी प्रभावित छन् । काठमाडौं उपत्यकासहित ८ वटामा मानवीय क्षति सहित ११ जिल्ला प्रभावित भएको सुरक्षा निकायहरुले जनाएका छन् ।
सबैभन्दा बढी क्ष्ँति बाग्लुङमा भएको छ । यहाँ १० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । जिल्लामा ८ घर बगेका छन् भने अन्य पहिरोमा पुरिएको छ । त्यसैगरी तनहुँमा २४ घरमा क्षति पुगेको छ भने विभिन्न संरचना बाढीले बगाएको छ ।
पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषालगायत जिल्लामा ४१९ परिवारका १ हजार ४५१ जना विस्थापित भएका छन् ।
खोज तथा उद्धार भैरहेको छ । अझै थप मृतक, बेपत्ता, विस्थापित र भौतिक क्षतिको संख्या आउन बाँकी रहेको स्थानीय प्रशासनहरुले जनाएका छन् ।
अझै मनसुन सामान्यतः यही असोज १६ गते अर्थात सन् २०२६ अक्टोबर २ को आसपास बाहिरिने बताइएको छ । यस वर्ष केही ढिलाइ हुनसक्ने भएकाले आगामी केही दिन बाढी–पहिरोको जोखिम कायमै रहने सक्ने मौसम विद्हरुले जनाएका छन् ।
प्रतिक्रिया