काठमाडौं–चारदिनको लगातारको वर्षाले बाढी, पहिरो र डुवानका जस्ता प्राकृतिक विपत्तिका कारण चीनसँगको स्थलगत व्यापारगत बन्द भएको छ ।
दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख नाका तातोपानी, रसुवागढी र कोरला तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भए । उसले नेपालसंगको आपूर्ति श्रृङखला नै टुटेको छ ।
चालु आवको पहिलो २ महिनामा चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । प्राकृतिक प्रक्रोपपछि सडक संजाल बन्द भएपछि तीनवटै नाका ठप्प भएको हो । चीनले सबैभन्दा पुरानो तातोपानी–खासा नाका यसअघि नै बन्द छ भने १० भदौमा भोटेकोशी–त्रिशूलीमा आएको बाढीले रसुवागढी नाकाको भौतिक संरचना पुरै ध्वस्त बनाएको छ । नेपाल–चीन व्यापारको भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका हालैको बाढीका कारण सडक सम्पर्कबाट विच्छेद छ । अरु बैकल्पिक सडक समेत नाकामा पुग्ने अवस्था छैन ।
रोकिए करोडौंको व्यापार
तातोपानी र रसुवागढी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढेको थियो । तर यही असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाका कारण यो पनि बन्द भएको छ । कोरलाबाट १० देखि २५ भदौसम्मको १५ दिनमा ४ सय ३४ कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । चालु आव भदौ अन्तिम सातादेखि असोजा पहिलो सातासम्म मात्रै मुस्ताङ भन्सारले २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको थियो ।
चाडपर्वमा ३० प्रतिशत मूल्य बढ्ने आशंका
चीनबाट नेपाल भित्रिने वस्तुहरुमा कपडा, जुत्ताचप्पल, झोलादेखि इलेक्ट्रोनिक्स र विद्युतीय गाडीसम्मको ढुवानी रोकिएको छ । यसले गर्दा व्यापारी र उपभोक्ता मारमा पर्ने देखिएको छ ।
डलरको भाउ र ढुवानी भाडा बढेका कारण मूल्य महँगिने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया