काठमाडौं–सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज घटनापछि तनावग्रस्त बनेको पूर्वी तराई र मधेशका सुनसरी, धनुषा र सिरहामा स्थानीय प्रशासनले कफ्र्यु खुकुलो बनाएर निषेधाज्ञा लगाउन थालेका छन् ।
सुनसरी, धनुषाको जनकपुर क्षेत्रमा निषेधाज्ञा जारी छ । सिरहाको लहानमा निषेधाज्ञा र सोही जिल्लाको गोलबजारमा भने कफ्यु यथावत् जारी गरिएको त्यहाँका स्थानीय प्रशासनले जनाएका छन् ।
सुनसरीमा साउन १२ गते देवानगञ्जमा भएको हिंसात्मक घटनापछि ती क्षेत्रमा कफ्र्यु लगाइएको थियो ।
धनुषाको जनकपुरधाम क्षेत्रमा शनिबार बिहान १० बजेदेखिबाट कफ्यु हटाइएको भने अर्को आदेश नभएसम्म ५ जनाभन्दा बढी भेला हुन, सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको छ ।
सिरहाको लहानमा शनिबार बिहान १० बजेदेखि कफ्र्यु हटाएर गोलबजारमा कायमै राखिएको सिरहा प्रशासनले जनाएको छ ।
तीनै जिल्ला प्रशासनले शान्ति–सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया