काठमाडौं–बजारमा खाना पकाउने ग्यासको कृतिम अभाव सिर्जना भएपछि नेपाल आयल निगमले टेकुबाट वितरण थालेको छ ।
निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको हो ।
दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ ।
बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निगमले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा बढी ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ ।
एलपी ग्यासको आयात र वितरण नियमित भइरहेको निगमले जनाएको छ ।
प्रतिक्रिया