July 30, 2026
मुख्य समाचार शिक्षा, स्वास्थ्य तथा खेलकुद सबै

सरकारी सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता, सेवा सुचारु

काठमाडौं–सरकारसंग सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता भएको छ । पाँच बुँदे सहमतिपछि नेपाल चिकित्सक संघले गरिरहेको आन्दोलन बुधबार साँझबाट स्थगित भएको हो ।


पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा एक बिरामीको मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुव्र्यवहार भएको घटनालाई लिएर देशभरका चिकित्सक आन्दोलित भएका थिए ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा सरकारी प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको ५ बुँदे सहमतिपछि संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई सेवाप्रवाह सुचारु गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम दोषीमाथि कारबाही अगाडि बढाउने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षा ऐनका दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता २०७४ का दफा २३२ र २३३ मा आवश्यक संशोधन गर्न आगामी प्रतिनिधिसभाको अधिवेशनमा विधेयक पेश गरी तत्काल अघि बढाउने सहमति भएको छ ।
यस कार्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्ने र उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले चिकित्सक संघको समेत सहभागितामा ७ दिनभित्र कार्यदल गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।

सम्झौताहरूको कार्यान्वयन गर्न ३ दिनभित्र अर्को कार्यदल गठन गरिने सहमति पनि भएको छ ।

प्रतिक्रिया