काठमाडौँ –तिहारको भाइटीकाको उत्तम साइत कातिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत साइत सार्वजनिक गर्दै टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कनुपर्ने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ ।
यो वर्षको तिहार कार्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ । समितिका अनुसार कार्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ ।
त्यसैगरी, कार्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । कार्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा तथा सुखरात्रि परेको छ ।
कार्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कार्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुने पनि समितिले जनाएको छ ।
तिहारको अन्तिम दिन कार्तिक २५ गते बुधबार भाइटीका परेको छ ।
प्रतिक्रिया