काठमाडौं–नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आइतबारदेखि टोल शुल्क संकलन सुरु भएको छ। । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको छ ।
सरकारले सडक बोर्ड नेपालको निर्णय तथा राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन सुरु गरेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी मिनीबस तथा मिनी टिपर÷ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
मल्टिएक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
सुरुङमार्गबाट दैनिक औसत ८ हजार ८९८ सवारीसाधन आवतजावत गर्ने अनुमान
सडक विभागको प्रक्षेपणअनुसार सुरुङमार्गबाट दैनिक औसत ८ हजार ८९८ सवारीसाधन आवतजावत गर्ने अनुमान छ । यसबाट दैनिक करिब ९ लाख ८४ हजार रुपैयाँ र वार्षिक करिब ३५ करोड ९३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारमा वार्षिक करिब २३ करोड रुपैयाँ खर्च हुने अनुमान छ । वास्तविक आम्दानी सवारी आवागमन र शुल्क संकलनमा निर्भर हुने बताइएको छ ।
किन उठाइँदैछ शुल्क?
सुरुङमार्ग प्रयोग गरेबापत शुल्क लिनुको मुख्य उद्देश्य यसको नियमित सञ्चालन, सुरक्षा व्यवस्था र दीर्घकालीन मर्मतसम्भारका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको सम्बन्धित निकायले जनाएको छ ।
सुरुङभित्र चौबीसै घण्टा विद्युत्, प्रकाश, हावा आवतजावत गर्ने प्रणाली, सीसीटीभी निगरानी, सञ्चार प्रणाली, आगलागी नियन्त्रण उपकरण तथा आपत्कालीन उद्धार सेवाको व्यवस्था सञ्चालन गर्नुपर्ने हुन्छ । यी सबै प्रणालीको नियमित सञ्चालन र मर्मतसम्भारका लागि दक्ष जनशक्ति र ठूलो आर्थिक स्रोत आवश्यक पर्ने बताइएको छ । त्यसैका लागि सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट उपभोग दस्तुर लिन थालिएको बताइएको छ ।
२५ अर्बको होइन, करिब २९ अर्बको आयोजना?
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि सुरुमा करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । तर निर्माण अवधि लम्बिनु, निर्माण सामग्रीको मूल्यवृद्धि, विनिमय दरमा परिवर्तन, थप संरचना निर्माण तथा जग्गा अधिग्रहणलगायतका कारण लागत बढेर पछिल्लो प्रकाशित विवरणअनुसार करिब २९ अर्ब रुपैयाँ पुगेको बताइएको छ ।
आयोजनाको मुख्य सुरुङ २ हजार ६८८ मिटर अर्थात् करिब २ दशमलव ७ किलोमिटर लामो छ । यसको समानान्तर २ हजार ५५७ मिटर लामो आपत्कालीन उद्धार सुरुङसमेत निर्माण गरिएको छ ।
३३ मिनेटको यात्रा अब ७ मिनेटमा
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्दा पुरानो सडकबाट लाग्ने करिब ३३ मिनेटको यात्रा घटेर लगभग ७ मिनेटमा झर्ने अपेक्षा गरिएको छ। त्यसैगरी काठमाडौं बाहिरिँदा पुरानो सडकमा लाग्ने करिब २३ मिनेटको समय पनि ७ मिनेटमा सीमित हुने अनुमान छ ।
यसरी काठमाडौं प्रवेश गर्दा करिब २६ मिनेट र बाहिरिँदा करिब १६ मिनेट समय बचत हुन सक्नेछ। यसबाट इन्धन खपत, सवारीसाधनको सञ्चालन खर्च तथा नागढुंगा क्षेत्रमा हुने ट्राफिक जामसमेत घट्ने अपेक्षा गरिएको छ।
शुल्क भुक्तानीका लागि आरएफआईडी प्रविधिमा आधारित कार्ड, क्यूआर कोड तथा नगद भुक्तानीको व्यवस्था गरिएको छ। भविष्यमा डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाउँदै आरएफआईडी प्रविधिमार्फत शुल्क संकलनलाई प्राथमिकता दिने तयारी गरिएको छ।
शुल्कको भार उपभोक्तामाथि सर्ने जोखिम
सुरुङमार्ग प्रयोग गरेबापत सवारीधनीले तिर्नुपर्ने शुल्कले सार्वजनिक यातायात र ढुवानी व्यवसायको सञ्चालन खर्च बढाउन सक्छ। त्यसको असर अन्ततः यात्रुको भाडा तथा बजारमा उपभोग्य वस्तुको मूल्यमा पर्न सक्ने सम्भावना पनि छ।
विशेषगरी काठमाडौं प्रवेश गर्ने बसले २६० रुपैयाँ र भारी ट्रकले ६०० रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएपछि सवारी सञ्चालकले बढेको खर्च यात्रु तथा सामान ढुवानीको लागतमा जोड्न खोज्न सक्छन्।
तर सरकारले तोकेको सार्वजनिक यातायातको भाडादरभन्दा बढी रकम सवारीधनीले आफूखुसी लिन पाउँदैनन्। भाडा समायोजन गर्नुपर्ने भए सम्बन्धित सरकारी निकायले लागत अध्ययन गरी निर्णय गर्नुपर्ने हुन्छ।
त्यसैले सुरुङ शुल्कको नाममा यात्रुबाट अतिरिक्त रकम असुली हुन नदिन सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ। त्यस्तै ढुवानी व्यवसायीले पनि शुल्कको बहानामा उपभोक्तामाथि अनावश्यक मूल्यवृद्धिको भार नथोपर्ने व्यवस्था आवश्यक छ।
सुविधा र शुल्कबीच सन्तुलन आवश्यक
नेपालको यातायात पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएको नागढुंगा सुरुङमार्गले यात्रा समय घटाउने, इन्धन बचत गर्ने र सवारी चाप कम गर्ने अपेक्षा गरिएको छ। तर सुरुङमार्ग प्रयोगकर्ताले शुल्क तिरेअनुसार सुरक्षित, सहज र भरपर्दो सेवा पाउनुपर्छ।
सुरुङमार्गको नियमित मर्मतसम्भार, सुरक्षा व्यवस्था र आपत्कालीन उद्धार प्रणाली प्रभावकारी बनाउनु सम्बन्धित निकायको जिम्मेवारी हो। साथै शुल्कबाट संकलित रकमको आम्दानी र खर्चसम्बन्धी विवरण पारदर्शी रूपमा सार्वजनिक गरिनुपर्छ ।
सुरुङमार्ग निर्माणमा राज्यको ठूलो लगानी भएको अवस्थामा यसको सञ्चालन खर्च उठाउने नाममा उपभोक्तामाथि अनावश्यक आर्थिक भार पर्न नदिनु पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले नागढुंगा सुरुङमार्गको सफलता यात्रा समय घट्नुमा मात्र होइन, उपभोक्ताले तिरेको शुल्कअनुसार गुणस्तरीय सेवा पाउनु र त्यसको आर्थिक लाभसमेत सर्वसाधारणसम्म पुग्नुमा निर्भर रहनेछ।
प्रतिक्रिया