काठमाडौं–छिमेकी मुलुक भुटानमा हिमताल फुटेर आएको भीषण बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल बिहीबार साँझ फुटेपछि आएको बाढीले सडक, पुल तथा पर्यटकीय क्षेत्रका संरचनामा क्षति पु¥याएको हो ।
विहिबार राति हिमताल फुटेपछि निस्किएको पानी मोछु नदी हुँदै तल्लो क्षेत्रमा तीव्र गतिमा बगेको थियो । बाढीले गासा छाचु क्षेत्रका संरचनामा क्षति पु¥याउनुका साथै लाया गाउँतर्फ जाने सडकको केही भागसमेत बगाएको छ । सडकमा क्षति पुगेपछि उक्त मार्गमा यातायात आवागमन अनिश्चितकालका लागि बन्द गरिएको भुटानको राष्ट्रिय दैनिक कुएन्सेलले जनाएको छ ।
भुटानको सरकारी प्रसारण संस्था बीबीएसका अनुसार बाढीको तीव्र बहावका कारण दुईवटा अस्थायी बेली ब्रिजसमेत बगेको हुन सक्ने आशंका गरिएको छ । तर, रातिको समयमा बाढीको बहाव तीव्र रहेकाले क्षतिको विवरण प्राप्त भएको छैन ।
इण्डियाका सीमावर्ती क्षेत्रमा बाढीको जोखिम
भुटानबाट बगेको बाढीको पानी भारततर्फको संकोश नदीमा पुग्न सक्ने भन्दै भारतको पश्चिम बंगाल र असम राज्यका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
विशेषगरी पश्चिम बंगालको अलिपुरद्वार तथा कुचबिहार क्षेत्र र असमको धुब्री जिल्लामा बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बललाई तयारी अवस्थामा राखिएको छ ।
प्रतिक्रिया