हिन्दू संस्कृति तथा सनातन परम्परामा आफ्ना पितृ (पूर्खा)हरूप्रति श्रद्धा, भक्ति र कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा ‘सोह्र श्राद्ध’ लाई लिइन्छ । यसलाई ‘पितृ पक्ष’ वा ‘महालया श्राद्ध’ पनि भनिन्छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा (मातामह श्राद्ध) सम्मका १६ तिथिहरूमा पितृहरूको सम्झनामा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।
सोह्रश्राद्धसँग जोडिएको सबैभन्दा प्रसिद्ध कथामध्ये एक महाभारतका कर्णको कथा हो। धार्मिक आख्यानअनुसार, महाभारत युद्धपछि कर्णको मृत्यु भयो र उनी स्वर्ग पुगे। तर त्यहाँ उनलाई भोजनको सट्टा सुन प्राप्त भयो।
कर्णले यसको कारण जान्न खोज्दा उनले जीवनभर सुन, धन आदि दान गरेको भए पनि आफ्ना पितृहरूका लागि अन्न–जलको श्राद्धरदान नगरेको कारण यस्तो भएको बताइएको कथा छ।
कर्णले आफूलाई आफ्ना पितृबारे पर्याप्त जानकारी नभएको बताएपछि उनलाई पृथ्वीमा फर्केर पितृहरूको निमित्त श्राद्ध तथा दान गर्न समय दिइएको कथानक पाइन्छ। यही आख्यानलाई पितृपक्षसँग जोडेर व्याख्या गर्ने परम्परा छ ।
सोह्र श्राद्धको महत्व
शास्त्रानुसार मानव जीवनमा तीन प्रकारका ऋण हुन्छन् — देव ऋण, ऋषि ऋण र पितृ ऋण । पितृ ऋणबाट मुक्त हुन र आफ्ना स्वर्गीय बुबा, आमा तथा पूर्खाहरूलाई सम्मान व्यक्त गर्न पितृ पक्षमा श्राद्ध गर्ने विधान छ । यस समयमा गरिने तर्पण, पिण्डदान र ब्राह्मण भोजनले पितृका आत्माले शान्ति पाउँछन् र उनीहरूको आशीर्वादले परिवारमा सुख, समृद्धि, निरोगिता र वंश वृद्धि हुन्छ भन्ने धार्मिक विश्वास छ ।
श्राद्धको विधि र प्रक्रिया
सोह्र श्राद्धमा तिथि अनुसार आफ्ना दिवङ्गत पितृको श्राद्ध गरिन्छ । यस अवधिमा मुख्य रूपमा निम्न कार्यहरू गरिन्छन् ः
तर्पण र सङ्कल्प ः पवित्र नदी, कुण्ड वा घरमै शुद्ध जल, तिल, कुश र फूल लिएर पितृहरूका नाममा तर्पण दिइन्छ ।
पिण्डदान ः गाईको दूध, घिउ, मह, तिल र जौ वा चामलको पिठोबाट बनाइएको पिण्ड पितृहरूलाई अर्पण गरिन्छ ।
ब्राह्मण भोजन र दान ः श्राद्ध सम्पन्न भइसकेपछि श्रद्धापूर्वक ब्राह्मण, भान्जा–भान्जी तथा दीनदुःखीलाई भोजन गराइन्छ । साथै अन्न, वस्त्र र दक्षिणा दान गर्ने परम्परा छ ।
पञ्चबलि ः श्राद्धको भोजनबाट गाई, कुकुर, काग, देवादि र किरा–फट्याङ्ग्राका लागि छुट्याएर दिने कार्यलाई पञ्चबलि भनिन्छ ।
सोह्र श्राद्धका नियमहरू
पितृ पक्षलाई अत्यन्तै पवित्र र अनुशासित समय मानिन्छ । यस अवधिमा निम्न नियमहरूको पालना गरिन्छ ः
सात्विक जीवन ः श्राद्ध गर्ने कर्ताले यस अवधिमा माछा–मासु, लसुन, प्याज, मदिरा जस्ता तामसिक वस्तुको सेवन गर्नु हुँदैन ।
शुद्धता र संयम ः शरीर र मनको शुद्धताका लागि कपाल तथा नङ काट्नु हुँदैन र सात्विक आहार मात्र लिनुपर्छ ।
माङ्गलिक कार्यमा रोक ः सोह्र श्राद्धको समयमा विवाह, व्रतबन्ध, गृहप्रवेश वा कुनै नयाँ शुभ कार्यको सुरुवात गरिँदैन, किनकि यो समय पूर्ण रूपमा पितृ स्मरण र भक्तिमा समर्पित हुन्छ ।
श्राद्ध तिथि थाहा नभएमा ः
आफ्नो परिवारका कुनै पितृको मृत्यु तिथि थाहा नभएमा अथवा विभिन्न कारणले छुटेका पितृहरूलाई सम्झन अमावस्यामा सामूहिक रूपमा पितृश्राद्ध गर्ने परम्परा छ।
यसैले सोह्रश्राद्धको अन्तिम दिन अत्यन्त महत्वपूर्ण मानिन्छ।
सामाजिक र सांस्कृतिक पक्ष
सोह्र श्राद्धले केवल धार्मिक अनुष्ठानका रूपमा मात्र नभई पारिवारिक र सामाजिक एकताको प्रतीकका रूपमा पनि काम गर्छ । यसले हामीलाई आफ्ना पूर्खा, उनीहरूको योगदान र वंशजप्रतिको दायित्व सम्झाउँछ । जीवन दिने, संस्कार दिने र परिवारको जग बसाल्ने दिवङ्गत आत्माहरूप्रति कृतज्ञ हुने यो एउटा पवित्र माध्यम हो ।
नेपाली समाजमा सोह्र श्राद्ध सकिएलगत्तै बडा दसैँ सुरु हुने भएकाले यसलाई दसैँको पूर्वसन्ध्याका रूपमा पनि हेरिन्छ । बडा दसैँ जस्ता ठूला पर्व मनाउनुअघि पितृहरूको आशीर्वाद लिनुलाई शुभ मानिन्छ ।
प्रतिक्रिया