काठमाडौ– ६० मेगावाट क्षमताको त्रिशुली ३–एको सुरुङको मुख थुनिएपछि फसेका दुई जना प्राविधिकको शुक्रबार उद्धार भएको छ ।
भदौ १० गते आएको बाढीले सञ्जय साह र कविर महर्जनको शुक्रबार सकुशल उद्धार भएको हो । उनीहरुलाई सकुशल सुरुङबाट बाहिर निकाल्न सफल भएपछि फसेका अन्यको पनि जिवितै छन् भन्ने आशा जागेको छ । यो सुरुङमा फसेकाहरूलाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत प्राधिकरणका प्राविधिक लगायतको टोली खटिएको थियो ।
उनीहरूको एक साता लामो प्रयासपछि जीवित उद्धार गर्न सफल भएका हुन् । यो उद्धारले नेपालमा जटिल विपद्को व्यवस्थापन नेपालीले नै गर्नसक्छन् भन्ने प्रमाणित भएको छ । त्रिशूली ३ ‘ए’ मा उद्धार
टोलीको कमान्ड गरिरहेका नेपाली सेनाका प्रमुखसेनानी गंगा बरालले दिनरात काम गरेर सफलता हात परेको बताए । उनका अनुसार नेपालीले पनि गर्न सक्छन् भन्ने प्रमाणित भएको जनाए ।
विपद् व्यवस्थापनमा सुरुङबाट उद्धार गरिएको घटना एउटा ठूलो अनुभव भएको जनाए ।
यो उद्धारमा सेना, सशस्त्र, नेपाल प्रहरी विद्युत् प्राधिकरणका कमर्चारी सबैको समन्वयमा काम भइरहेको छ ।
शुक्रबार बिहान त्रिशूली ३ एबाट उद्धार गरिएका संजय साह आयोजनाको कन्ट्रोल रूममा काम गर्थे भने कविर महर्जन आयोजनाका सुपरभाइजर थिए । उद्धार लगत्तै महर्जनलाई सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । साहलाई पनि मेडिकल निगरानीमा राखिएको छ । साहले उद्धारपछि बाढी सुरुङमा पसेपछि अरूलाई पनि भाग्न भनेको र त्यसक्रममा आफू ढिलो हुँदा भित्रै फसेको बताए ।
