काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक च्याम्पियन लुम्बिनी लायन्सले ७ विकेटको सहज जित निकालेको छ । पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले केबल ९.५ ओभरमै भेटायो ।
भरिभराउ टियु मैदानमा सुरुवातबाटै उत्साहित दर्शक पहिलो इनिङ्समा अपेक्षित रन बन्न नसक्दा स्वभाविक रुपमा उत्साहप्रद रहेनन् ।
तर, दोस्रो इनिङ्समा लुम्बिनीले टी–२० को विष्फोटक झल्को दिँदै सुरुवात गरे पनि अन्त्य भने केही सुस्त रह्यो । यो पटक प्रयोगमा आएको डिआरएस सिस्टमदेखि अन्तर्राष्ट्रिय अनुभवी खेलाडीको उपस्थिति र फरक तरिकाले सिंगारिएको टियु मैदानमा अपेक्षित रन नबने पनि प्रतियोगिताको धमाकेदार सुरुवात भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले अम्पायरलाई बल दिँदै प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले पहिलो इनिङ्स लगभग पूरै हेरे । उनी देशमा भएका सार्वजनिक कार्यक्रममा सबैभन्दा लामो समय बसेका थिए ।
पहिलो इनिङ्समा अपेक्षित रुपमा रन नबन्दा दर्शकमा हुटिङको माहोल कमजोर देखियो । यद्यपि, दोस्रो इनिङ्समा लुम्बिनी लायन्सले आफ्नो कडा इनिङ्स गर्दै ८७ रनको सामान्य लक्ष्य सहज रुपमा पूरा ग¥यो ।
लुम्बिनीका लागि ओपनर ड्यार्सी सर्ट र आसिफ शेखले विष्फोटक सुरुवात गर्दै पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे । सर्ट ४० रनमा अनिल खरेलको बलमा आउट भएका थिए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
आसिफ पनि अनिलकै बलमा ३२ रन बनाएर आउट भए । उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ७ विकेटको सहज जितसँगै साविक च्याम्पियन लुम्बिनीले आफ्नो सुरुवात दिएको छ ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटियो। सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । उनले २३ बलमा २ चौका प्रहार गरे ।
सुदूरपश्चिमका लागि दीपेन्द्रबाहेक साइफ जाइबले १३ रन तथा अनिल खरेलले १५ रन बनाउनु थप दोहोरो स्कोर बनाए ।
सुदूरपश्चिमलाई सुरुवातमै धारासायी बनाउने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिँदा शेर मल्लले ३ तथा स्याड्ली भान सल्कवाए र तिलक भण्डारीले १–१ विकेट लिए ।
साभारः देशसंचार
