काठमाडौं–सर्बियामा लामो समयदेखि जारी विद्यार्थी नेतृत्वको आन्दोलनले आइतबार भएको संसदीय निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
दुई वर्षदेखि भ्रष्टाचार, जवाफदेहिता र शासन प्रणालीमा सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थी समर्थित स्टुडेन्टस् लिष्टस्ले निर्वाचनमा निर्णायक अग्रता हासिल गरेपछि लामो समय सत्ताको केन्द्रमा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचले आफ्नो हार स्वीकार गरेका छन् ।
प्रारम्भिक अनुमानअनुसार विद्यार्थी समर्थित समूहले २५० सदस्यीय संसदमा १३५ देखि १४० सिट जित्न सक्ने देखिएको छ, जबकि भुचिचको सर्बियन प्रोग्रेसिभ पार्टीको पक्षमा १०५ सिट आउने अनुमान गरिएको छ । अन्तिम आधिकारिक परिणाम भने अझै प्रक्रियामा रहेको छ ।
यो परिवर्तनको सुरुवात नोभेम्बर २०२४ मा नोभी साद रेल्वे स्टेसनको छाना खस्दा १६ जनाको मृत्यु भएपछि भएको विद्यार्थी आन्दोलनबाट भएको थियो । घटनामा जिम्मेवार पक्षमाथि कारबाही र
पारदर्शिताको माग गर्दै सुरु भएको आन्दोलन विस्तारै देशव्यापी राजनीतिक अभियानमा परिणत भयो ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि बेलग्रेडलगायत सहरमा हजारौँ स्थानीय सडकमा निस्केर विजय उत्सव मनाएका छन् । विद्यार्थी आन्दोलनले देखाएको शान्तिपूर्ण नागरिक सहभागितालाई समर्थकहरूले लोकतान्त्रिक परिवर्तनको नयाँ अध्यायका रूपमा व्याख्या गरेका छन् ।
अब विद्यार्थी समर्थित नयाँ राजनीतिक शक्तिसामु भ्रष्टाचार नियन्त्रण, संस्थागत सुधार र देशको भविष्यबारे ठोस नीति निर्माण गर्ने ठूलो चुनौती थपिएको छ ।
