अर्थ तथा कृषि मुख्य समाचार श्रेणीहरू सबै

बाढीले टुटाएको गोरखा चुमभ्यालीको बाटो फेरि खुल्यो, ४ आपतकालीन काठेपुलले जोडिए चुम्चेत र छेकम्पार

काठमाडौं – बाढीले बाटो भत्काएपछि आवतजावत अवरुद्ध बनेको गोरखाको चुमभ्याली जाने मुख्य पदमार्ग पुनः सञ्चालनमा आएको छ।

चुमनुब्री गाउँपालिकाका स्थानीय बासिन्दा, जुझारु युवा तथा विभिन्न सहयोगीहरूको पहलमा बाटो मर्मत र ४ वटा आपतकालीन काठेपुल निर्माण गरिएपछि चुम्चेत र छेकम्पारबीचको आवतजावत सहज बनेको हो ।

गएको असोज २५ गते बूढीगण्डकीको सहायक नदी स्यारखोलामा आएको बाढीले चुमनुब्री गाउँपालिका–६ स्थित सर्दीभिरको क्यान्टिलिभर पुलमा क्षति पु¥याएपछि चुमभ्याली जाने पदमार्ग अवरुद्ध भएको थियो । यसबाट चुमनुब्री गाउँपालिका वडा नं. ६ चुम्चेत र वडा नं. ७ छेकम्पारका बासिन्दाको आवतजावत प्रभावित बनेको थियो ।

४ काठेपुलले सहज बनायो आवतजावत
बाढीबाट क्षतिग्रस्त बाटो मर्मत गर्नुका साथै जोखिमपूर्ण स्थानमा आपतकालीन काठेपुल निर्माण गरेर पदमार्ग सञ्चालनमा ल्याइएको हो । पुल बनेपछि स्थानीय बासिन्दा र खच्चडबाट सामान ढुवानी गर्न सहज भएको छ । चुम उपत्यका जाने पर्यटक तथा पदयात्रीलाई समेत यसले राहत दिएको छ ।

गाउँपालिकाको पहल, युवाको साहस
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार अवरुद्ध पदमार्ग सञ्चालनमा ल्याउन चार वटा आपतकालीन काठेपुल निर्माण गरिएको बताए । बाटो मर्मत तथा पुल निर्माणका लागि स्थानीय सरकारको विपद् व्यवस्थापन कोषबाट बजेट व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।
निर्माण कार्यमा दिनरात नभनी खटिएका स्थानीय युवाहरूको योगदान उल्लेखनीय रहेको छ । स्वदेश तथा विदेशमा रहेका स्थानीय र विभिन्न मनकारी सहयोगीहरूले खाद्यान्न तथा आर्थिक सहयोग गरेर अभियानलाई साथ दिएका छन् ।

अध्यक्ष लामाद्वारा सहयोगीप्रति आभार
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले पदमार्ग सुचारु गर्न सहयोग गर्ने सम्पूर्ण संघसंस्था, आर्थिक तथा खाद्यान्न सहयोगदाता, स्थानीय बासिन्दा र निर्माण कार्यमा खटिएका युवाहरूप्रति धन्यवाद व्यक्त गर्दै विपद्का बेला स्थानीय समुदायले देखाएको एकता, सहकार्य र सक्रियताले अवरुद्ध पदमार्ग पुनः सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
स्थानीय र पर्यटकलाई राहत
चुमभ्याली जाने मुख्य पदमार्ग पुनः सञ्चालनमा आएपछि वडा ६ चुम्चेत र वडा ७ छेकम्पार(चुमभ्याली) का स्थानीयको आवतजावत, दैनिक उपभोग्य सामग्री ढुवानी तथा पर्यटकीय गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ ।

यद्यपि, काठेपुलहरू आपतकालीन र अस्थायी प्रकृतिका भएकाले दीर्घकालीन सुरक्षित आवागमनका लागि स्थायी पुल वा भरपर्दो वैकल्पिक पदमार्ग निर्माण गर्न भने आवश्यक रहनेछ ।

Exit mobile version