काठमाडौ– किसानले आफूले उत्पादनको गरेको गोलभेंडाबाट उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरको मण्डला क्ष्ँेत्रमा गोलभेंडा फ्याकेर प्रदर्शन गरेका छन् ।
हालै माइतीघरमण्डलामा भेला भएका किसानहरुले क्रेटबाट गोलभेंडा फ्याकेर विरोधस्वरुप प्रदर्शन गरेका हुन् । किसानले उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै किसानहरु सरकार विरुद्ध प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनका लागि कृषि फार्मबाटै विरोधमा उत्रेका किसानले गोलभेंडा ल्याएका थिए ।
किसानहरुले प्रदर्शन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गरेका थिए । गोलभेंडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्नु पर्ने, कृषि बिमा लागू गर्नु पर्ने लगायतका नारा तथा प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
किसानहरुले विरोध प्रदर्शनमा कृषि पेसालाई सुरक्षित र मर्यादित बनाउन माग गरेका थिए । किसानमैत्री कदम गर्न नीतिगत सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपालमा गोलभेडा उत्पादन, आयात र किसान आन्दोलनसम्बन्धित मुख्य जानकारी तथा तथ्यहरू–
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वार्षिक ५ लाख ६२ हजार मेट्रिकटन भन्दा बढी गोलभेंडा उत्पादन हुने गरेको छ ।
२८ हजार हेक्टरमा गोलभेंडा खेती
नेपालमा २८ हजार हेक्टर जमिनमा गोलभेडा खेती गरिंदै आएको छ । आम्दानीको हिसावले गोलभेंडाको बजार भाउ र गुणस्तर (टनेल वा खुल्ला खेती) अनुसार फरक छ ।
वार्षिक १८ अर्बको कारोबार
गोलभेंडाको थोक बजार मूल्य र प्रतिमेट्रिक टनको हिसाबले हेर्दा नेपाली किसानहरुले वार्षिक १४ देखि १८ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छन् ।
नेपालमा गोलभेडाको उत्पादन राम्रै हुने
बेमौसममा र खुला सिमानाका कारण भारतबाट ठूलो परिमाणमा गोलभेडा भित्रिने गरेको छ । भन्सार विभाग र विभिन्न भन्सार नाकाको तथ्यांक हेर्दा नेपालमा सिजन तथा बेसिजनमा करिब २ करोडदेखि ३ करोड किलो गोलभेडा भारतबाट भित्रिन्छ । रकमको हिसाबमा हेर्दा वार्षिक ५० करोडदेखि १ अर्ब रुपैया बराबरको गोलभेडा भारतबाट आयात हुन्छ
नेपाली गोलभेडा किसान किन विरोधमा उत्रन्छन्
नेपाली किसानहरू हरेक वर्ष उत्पादन सिजनमा गोलभेडा सडकमा फालेर वा सरकारको विरोध गरेर आन्दोलनमा उत्रनुका मुख्य कारणहरू निम्नलिखित छन् ।
लागत मूल्य नउठ्न
मल, बीउ, र मल्चिङ प्रविधिको बढ्दो लागतले गर्दा गोलभेडा उत्पादनको लागत प्रतिकेजी २५ देखि ३० रुपैयाँ पर्छ । तर सिजनमा नेपाली बजारमा गोलभेडाको थोक मूल्य प्रतिकेजी ३ देखि १० रुपैयाँमा झर्छ ।
भारतीय आयातको मार
नेपालमै गोलभेडा फालाफाल हुने सिजनमा पनि भारतबाट निर्वाध रूपमा सस्तो गोलभेडा भित्रिन्छ, जसले गर्दा स्वदेशी उत्पादनले बजार पाउँदैन।
बिचौलियाको बिगबिगी
खेतमा प्रतिकिलो ३ रुपैयाँमा बेच्न बाध्य भएका किसानको गोलभेडा उपभोक्ताले किन्दा भने प्रतिकिलो ५० रुपैयाँसम्म तिर्नुपर्छ । यसको मुख्य कारण बिचौलियाको हालीमुहाली हो । भण्डारणको अभावः किसानले आफ्नो उत्पादन लामो समय सुरक्षित राख्ने कोल्ड स्टोरेजको अभाव हो । यसको अभावले तुरुन्तै सस्तो मूल्यमा गोलभेंडा बेच्न बाध्य छन् ।
