काठमाडौं –विदुर नगरपालिका–६ को सिंचाईबाट देवीघाट जलविद्युत् उत्संपादन गृह आसपासतर्फ त्रिशूली नदी वारपार गर्न अहिले पनि तुइन नै स्थानीयको मुख्य सहारा बनेको छ । नदीमाथि सुरक्षित र स्थायी आवतजावतको अर्को विकल्प नहुँदा साना विद्यार्थी, किसान, व्यवसायी तथा दैनिक कामका लागि ओहोरदोहोर गर्ने स्थानीयवासी जोखिम मोलेरै नदी पार गर्न बाध्य छन् ।
यही भदौ १० गते भोटेकोसी त्रिशूली नदीमा आएको भीषण बाढीले जिल्लाका विभिन्न स्थानका पुल तथा आवतजावतका संरचनामा क्षति पु¥याएपछि नदी वारिपारिका स्थानीयको समस्या झन् गम्भीर बनेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीले नुवाकोटमा मात्रै १७ वटा मोटरेवल पक्की र १८ वटा झोलुङ्गे पुल बगाएको थियो । पुलविहीन बनेका क्षेत्रमा तत्कालका लागि तुइन तथा जिपलाइनजस्ता अस्थायी माध्यम प्रयोगमा ल्याइएका थिए ।
विद्यार्थीको काँधमा किताब, तल त्रिशूली
शिक्षाका लागि नदी वारपार गर्नुपर्ने बालबालिकाको अवस्था अझ संवेदनशील छ । पुल नहुँदा विद्यालय जाने उमेरका बालबालिकाले जोखिमपूर्ण तुइनको यात्रा गर्नुपरेको छ भने कतिपय बाढी प्रभावित विद्यार्थी विद्यालयसम्म पुग्नै नसक्ने अवस्था आएको विभिन्न तथ्यांकले देखाएको छ ।
नदी वारिपारि गरेर अध्ययन गर्ने सयौँ बालबालिकाको विद्यालयसँगको पहुँच बाढीपछि प्रभावित भएको छ । विदुर–१२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा बाढीपछि विद्यार्थी संख्या घट्ने अवस्था देखिएको तथा विदुर–४ स्थित पृथ्वी माध्यमिक विद्यालयका त्रिशूलीपारिबाट आउने १०४ विद्यार्थीसहित ६३ जनाको घरबास नै बाढीले बगाएको विवरणसमेत सार्वजनिक भएको छ ।
देवीघाट क्षेत्रमा पनि बाढीको प्रभाव गम्भीर थियो । विदुर नगरपालिका–५ स्थित शहीद जगत् प्रकाश जंग शाह संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत करिब ८०० विद्यार्थी बाढीबाट प्रत्यक्ष प्रभावित भएको एक स्थलगत रिपोर्टमा उल्लेख गरिएको छ ।
यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ—बालबालिकाले विद्यालय पुग्न किताब बोकेर तुइन चढ्नुपर्ने अवस्था कहिलेसम्म?

तुइन कति ठाउँमा बने?
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि तत्काल आवतजावत सहज बनाउन नुवाकोटमा विभिन्न स्थानमा तुइन जडान गरिएको थियो। सार्वजनिक विवरणअनुसार विदुर नगरपालिकामा चार स्थानमा तुइन सञ्चालनमा ल्याइएको थियो ।
त्यसमध्ये विदुर–१ इन्द्रायणीचौर क्षेत्रमा दुई स्थान, विदुर–४ र वडा नं. १२ जोड्ने सिमचौर क्षेत्रमा एक तथा विदुर–५ र वडा नं. ३ जोड्ने देवीघाट क्षेत्रमा एक तुइन सञ्चालनमा ल्याइएको विवरण सार्वजनिक भएको छ ।
सरकारले नुवाकोट, रसुवा, धादिङ र गोरखाका बाढी प्रभावित क्षेत्रमा तत्काल आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको थियो । नुवाकोटको इन्द्रायणीचौर–गुम्बाडाँडा क्षेत्रमा मोटरयुक्त तुइन तथा विदुर–५ देवीघाट क्षेत्रमा समेत तुइन सञ्चालनमा ल्याइएको थियो । तर तुइन स्थायी समाधान होइन । निरन्तर वर्षा हुँदा नदीको बहाव बढेपछि विदुरका चारस्थानमा सञ्चालन गरिएका तुइन केही समय बन्दसमेत गरिएको थियो । देवीघाटमा तुइनको लठ्ठा बाँधिएको रुख नदी कटानका कारण जोखिममा परेको थियो ।
तुइन बन्द हुँदा झन् ठूलो समस्या
तुइन सञ्चालनमा आए पनि नदीको बहाव बढ्दा यसलाई बन्द गर्नुपर्ने अवस्था आउँछ। तुइन बन्द हुँदा नदीपारिका बस्तीको सदरमुकामसँगको सम्बन्धसमेत प्रभावित हुने गरेको छ ।
त्यसको असर विद्यार्थी र बिरामीदेखि किसान तथा व्यवसायीसम्मलाई पर्छ । बजार जान, औषधि उपचार गर्न, विद्यालय पुग्न वा खेतबारीमा उत्पादन भएको कृषि उपज ओसार्नसमेत नदी वारपार गर्नुपर्ने स्थानीयले अस्थायी संरचनामै निर्भर रहनुपरेको छ ।
पक्की पुल बनेपछि मात्रै समस्याको स्थायी समाधान
बाढीपछि केही स्थानमा वैकल्पिक पुल निर्माणले गति लिएको छ । विदुर–१ ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्रमा तुइन र जिपलाइनको जोखिमपूर्ण यात्रा घटेको छ । त्यस्तै अन्य क्षेत्रमा पनि झोलुङ्गे पुल तथा एक्रोब्रिज निर्माण अघि बढाइएको छ ।
‘तुइन होइन, पुल चाहिन्छ’
स्थानीयको माग स्पष्ट हुनुपर्छ—तुइन तत्कालीन बाध्यताको समाधान हुन सक्छ, तर भविष्यको बाटो होइनस ।
विदुर नगरपालिका, प्रदेश सरकार, संघीय सरकार तथा सम्बन्धित निकायले सिंचाई–देवीघाट क्षेत्रमा नदी वारपारको स्थायी विकल्पका रूपमा पुल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ । त्यसैले सिंचाई–देवीघाट क्षेत्रका नागरिक, विद्यार्थी, अभिभावक, किसान, व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला सबै एकजुट भएर “तुइन होइन, सुरक्षित पुल चाहिन्छ” भन्ने मागसहित जनदबाब सिर्जना गर्नुपर्ने समय आएको छ ।