काठमाडौं – स्थानीय तहलाई दलीय राजनीतिबाट मुक्त गरी जनताको प्रत्यक्ष सेवा र विकास निर्माणमा केन्द्रित गराउनुपर्ने माग उठेको छ ।
स्थानीय तहमा दलीय आधारमा निर्वाचन हुँदा विकास निर्माणमा भागबण्डा, पक्षपात र राजनीतिक हस्तक्षेप बढेको भन्दै स्थानीय तहलाई दलीयविहीन बनाउन अभियान थालिएको छ ।
अभियानका चन्द्रप्रसाद पुरुषले स्थानीय तह निर्वाचन ऐन संशोधन गरी दलीय चुनाव चिन्ह र मनोनयनको व्यवस्था हटाउनुपर्ने बताए ।
सबै उम्मेदवारलाई स्वतन्त्र चुनाव चिन्हबाट प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्ने अभियानकर्ता अधिवक्ता रामेश्वर भण्डारीको भनाइ छ ।
स्थानीय तहमा दलको हस्तक्षेप अन्त्य भए विकास निर्माण पारदर्शी हुनुका साथै जनप्रतिनिधि नागरिकप्रति थप जवाफदेही हुने अभियानकर्ताहरूको दाबी छ ।
‘स्वतन्त्र उम्मेदवार क्लब’ लगायतका अभियन्ताहरूले स्थानीय तहलाई दलीयविहीन बनाउन माग गर्दै अभियान अघि बढाइरहेका छन् ।
