काठमाडौं–देशको वर्तमान अवस्थाप्रति राजा ज्ञानेन्द्र शाहले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उहााले र्दै देश बच्ने हो कि होइन भन्ने निराशा पैदा भएको बताउनु भएको छ ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले दुई दशकअघि शान्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरुले देशलाई संकटमा धकेलेको बताउनु भएको हो ।
राजाले आफूले झण्डै दुई दशकअघि जनताको नासोका रुपमा ‘श्रीपेच र राजदण्ड’ बुझाएर राजकाजबाट बाहिरिएको स्मरण गराउनु भएको छ । ‘यो दायित्वबाट पलायन वा कमजोरीको अनुमोदन थिएन,’ उहाँले सन्देशमा भन्नु भएको छ, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।’
देशबाट जनशक्ति मात्र नभई अब पुँजी र उद्यमीहरु समेत पलायन हुन थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नु भएको छ । राजा पृथ्वीनारायण शाहको ‘जनता सक्षम भए मात्र देश बलियो हुन्छ’ भन्ने दिव्य उपदेशलाई उद्धृत गर्दै उहाँले स्वदेशी पुँजी पलायन रोक्न नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने चेतावनी दिनु भएको छ ।
उहाँले जेन–जी आन्दोलनतर्फ संकेत गर्दै युवा पुस्ताको आवश्यकता र भावनालाई सम्बोधन नगर्दा असन्तोष पैदा भएको, त्यसले विद्रोहको रुप लिने बताउनु भएको छ । उहाँले भन्नु भएको छ, ‘जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिदैन तब तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले ह्दयगम् गर्नै पर्दछ । नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो ।’
बदलिँदो भू–राजनीतिक परिस्थिति बुझ्न नसक्दा नेपालले मित्रराष्ट्रहरुको विश्वास गुमाउँदै गएको राजाको ठहर छ । असन्तुलित परराष्ट्र नीतिले राष्ट्रिय हितमा गम्भीर असर पुगेको भन्दै उहााले नेपालका लागि ‘शान्तिको कवच’ नै सही छहारी हुने बताउनु भएको छ ।
शाहवंशीय राजसंस्थाले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिको रुपमा काम गरेको उल्लेख गर्दै राजा शाहले जनताले सुम्पेको जिम्मेवारीबाट राजसंस्था विमुख हुन नसक्ने बताउनु भएको छ । उहाँले सबै नेपालीलाई ‘पृथ्वी पथ’ मा लाग्न आह्वान गर्नु भएको छ । उहाँले भन्नु भएको छ, ‘राष्ट्रिय सहमति बिना निकास खोज्नु समय खेर फाल्नु मात्र हो ।’
साभारः देश सञ्चार
