May 30, 2026
मुख्य समाचार सबै

राष्ट्रिय झण्डाको दुरुपयोग गरे कडा कारबाही

काठमाडौं– राष्ट्रिय झण्डाको मर्यादा उल्लंघन नगर्न गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ । अहिले राष्ट्रिय झण्डाको दुरुपयोग भएपछि गृहले उक्त चेतावनी सहित विज्ञप्ति जारी गरेको हो ।

राष्ट्रिय झण्डा उल्टो पार्ने, च्यात्ने, जलाउने लगायत व्यापारिक विज्ञापनमा समेत प्रयोग गर्न निषेध गरिएको छ ।
त्यसैगरी निर्वाचन प्रचारमा थोरैमा १० वटा झण्डासम्म प्रयोग गर्न पाउने र तर उल्लंघन गरे कडा कारबाही हुने उल्लेख छ ।

गृहले नेपालको राष्ट्रिय गौरवको प्रतीकको रुपमा राष्ट्रिय झण्डाको मर्यादित र सम्मानजनक प्रयोग गर्न जनमानसमा आग्रह गरेको छ ।
गृहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ को व्यवस्था विपरीत झण्डाको प्रयोग नगर्न सचेत गराएको छ ।
गृहले व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक प्रयोग गर्दा कम्मरभन्दा माथिको भागमा मात्र प्रयोग गर्न भनेको छ । चन्द्रसूर्य उल्टो नहुने गरी नलगाउन निर्देशन दिएको छ ।
विज्ञप्तिमा छातीभन्दा तलको भागमा वा भित्री लुगामा झण्डाको चित्र वा प्रतीक राख्नुलाई कानुन विपरीत मानिने उल्लेख छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै मन्त्रालयले ‘निर्वाचन आचारसंहिता, २०८२’ को व्यवस्थालाई कडाइका साथ पालना गर्न आग्रह समेत गरेको छ ।
गृहले मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ लाई स्मरण गराउँदै राष्ट्रिय झण्डाको अपमान गर्ने वा सार्वजनिक नैतिकता र शिष्टाचारको दृष्टिकोणले अयोग्य ठाउँमा प्रयोग गर्नेलाई सजायको व्यवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया