काठमाडौं– नेपालीहरूको महान्पर्व वडादशैं आइतबारदेखि सुरु भएको छ ।
दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्दै जमरा राखेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेट निर्धारण गरेको थियो ।
आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै नौ दिनसम्म चल्ने नवरात्र सुरु भएको छ । यो अवधिमा नवदुर्गाका विभिन्न स्वरूपको पूजा, दुर्गा सप्तशती पाठ तथा धार्मिक अनुष्ठान गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीका दिन टीकासँगै ग्रहण गर्ने परम्परा रहिआएको छ ।
आइतबार हनुमानढोका दरबार क्षेत्रको दसैँघर, नुवाकोट दरबार क्ष्ँेत्रको पाँचतल्ले दरबार छेउ तलेजुमा, गोरखा दरबार लगायत हिन्दूहरुको घरघरमा धार्मिक विधि अनुसार जमरा राखिएको छ ।
घटस्थापनाको धार्मिक महत्व
घटस्थापनाका दिन पूजा कोठा वा दसैँघरमा शुद्ध माटो वा बालुवा राखेर जौ छरिन्छ । विधिपूर्वक जलले भरिएको कलश स्थापना गरी दुर्गा भवानी देवीको आव्हान गरिन्छ । जमरालाई समृद्धि, शुभता र नयाँ जीवनको प्रतीकका रूपमा लिने परम्परा छ । नवरात्रका नौ दिनमा शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नवदुर्गाका नौ स्वरूपको पूजा गरिन्छ । यस अवधिमा भक्तजनले दुर्गा सप्तशती पाठ गर्ने, व्रत बस्ने तथा विभिन्न शक्तिपीठमा दर्शन गर्ने गर्छन् ।
घटस्थापनासँग जोडिएको एउटा महत्त्वपूर्ण शास्त्रीय प्रसङ्ग मार्कण्डेय पुराण अन्तर्गतको देवीमाहात्म्य (दुर्गासप्तशती) मा आउँछ । यसको पहिलो अध्यायदेखि नै देवीको महिमा, पूजा र उनको शरणमा जाने प्रसङ्ग वर्णन गरिएको छ ।
कथाअनुसार, राजा सुरथ आफ्नो राज्य र अधिकार गुमाएपछि वनमा पुगे । त्यहाँ उनले आफ्ना परिवारबाट अपमानित भएर निस्किएका समाधि नामका एक वैश्यलाई भेटे । दुवै जना आफ्नो दुःख र मोहबाट मुक्त हुन चाहन्थे । उनीहरू मेधा ऋषिको आश्रममा पुगे र मनमा दुःख हुँदाहुँदै पनि आफूलाई दुःख दिने सांसारिक कुराप्रति मोह किन रहन्छ भनेर प्रश्न गरे । ऋषिले उनीहरूलाई महामाया देवीको शक्तिबारे बताए ।
ऋषिको उपदेश सुनेपछि राजा सुरथ र समाधि वैश्यले देवीको आराधना गरे । देवी प्रसन्न भई राजालाई आफ्नो राज्य पुनः प्राप्त गर्ने र वैश्यलाई आत्मज्ञान प्राप्त गर्ने वरदान दिएको कथा देवीमाहात्म्यमा वर्णित छ ।
यस कथाको मूल सन्देशः देवीको उपासना केवल भौतिक सफलता माग्नका लागि होइन् । मोहबाट मुक्ति, आत्मज्ञान र जीवनमा धर्मको मार्ग पहिल्याउन पनि गरिन्छ । तर यो कथामा हामीले गर्ने घटस्थापनाको सम्पूर्ण विधि यही दिनदेखि सुरु भयो भन्ने स्पष्ट ऐतिहासिक प्रमाण भने छैन ।
दुर्गा र महिषासुरको युद्धः दशैंको सबैभन्दा प्रसिद्ध कथा
दशैंको धार्मिक महत्त्व बुझाउने अर्को प्रमुख कथा देवीमाहात्म्यको दोस्रोदेखि चौथो अध्यायमा पाइन्छ ।
पुराणको कथाअनुसार महिषासुर नामक असुरले देवताहरूलाई पराजित गरेर स्वर्गमाथि अधिकार जमाए । पराजित देवताहरू ब्रह्मा, विष्णु र शिवको शरणमा पुगे । देवताहरूको तेज एकत्रित भएर शक्तिशाली देवी दुर्गा प्रकट भइन् । देवताहरूले उनलाई विभिन्न अस्त्र दिए । त्यसपछि देवी दुर्गा र महिषासुरबीच भयानक युद्ध भयो । अन्ततः देवीले महिषासुरको वध गरिन् र देवताहरूको अधिकार पुनःस्थापित भयो । यो कथा देवीमाहात्म्यमा स्पष्ट रूपमा वर्णित छ ।
यसै विजयलाई सम्झँदै दुर्गा पूजाको परम्परामा असत्यमाथि सत्य, अधर्ममाथि धर्म र दुष्टतामाथि सद्गुणको विजयको सन्देश दिइन्छ ।
एउटा कुरा ध्यान दिनुपर्छ—महिषासुर वधको कथा शास्त्रमा छ, आइतबारको घटस्थापनाको प्रत्येक चलन त्यही युद्धको समयमा सुरु भएको थियो भन्ने कुरा भने शास्त्रले स्पष्ट रूपमा प्रमाणित गर्दैन।
४. त्यसो भए कलश र जमरा राख्ने चलन कसरी आयो?
घटस्थापनाको परम्परामा तीनवटा धार्मिक पक्ष एकसाथ जोडिएका छन्।
१. कलश स्थापनाः पवित्र जल भएको कलशलाई देवीको उपस्थितिको प्रतीक मानेर पूजा गरिन्छ । यसले घरमा देवी शक्तिको आह्वान गर्ने धार्मिक अर्थ राख्छ ।
२. जौ छरेर जमरा उमार्नेः जौलाई शुभता, उर्वरता र समृद्धिको प्रतीक मानिन्छ । नौ दिनसम्म उम्रिएको जमरा विजयादशमीमा ठूलाव्यक्तिबाट टीकासँगै आशीर्वादस्वरूप ग्रहण गरिन्छ ।
३. नवरात्रको नौ दिन पूजाः आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीका विभिन्न रूपको उपासना गरिन्छ। दशमीमा विजयादशमी मनाइन्छ ।
