काठमाडौं– गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले जिल्लाका विभिन्न बस्तीमा ठूलो क्षति पु¥याएको छ । बाढीले २ वटा मोटरेबल पुल र ४ वटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन ्।
चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगर क्षेत्रका करिब ३५ घरसमेत बाढीले बगाएको बताइएको छ ।
गोरखाको स्थानीय प्रशासनले जनाए अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पुल बगाएको छ । धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलीब्रिजसमेत बाढीले बगाएको छ ।
त्यसैगरी, माछाखोला–केरौँजा, चुमनुब्रीको ठाडोभ¥याङ–जगत् तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।
बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रका बस्ती प्रभावित भएका छन् । बाढीको सम्भावित कारण पहिरोले नदीको बहाव अवरुद्ध भएपछि एक्कासि पानी खुलेर बगेको हुन सक्ने अनुमान गरिएको छ ।
सम्पर्कविहीन भएकाहरूको खोजी तथा बाढीबाट भएको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । बुढीगण्डकीमा ६ पटकसम्म नदी थुनिने–खुल्ने, बाढीले बस्ती र पुल बगाएको स्थानीयले जनाएका छन् ।
