काठमाडौ– नेवार समुदायले सिठि नखः पर्व मनाएका छन् ।
शनिबार उक्त समुदायले बिहान घर आँगन सफा गरी परिवारका सदस्यहरूले पूजा गर्छन् भने कुमार कार्तिकेयको पनि पूजा गरिन्छ ।
नेवार समुदायमा यो दिन कुमार देवताको जन्मदिनका रुपमा लिइन्छ । कुमार शक्ति, साहस र सुरक्षा प्रदान गर्ने देवताको रुपमा पूजिन्छ भने उनको आराधनाले परिवार र समाजमा सुखशान्ति र समृद्धि र सुरक्षा प्राप्त हुने जनविश्वास रहेको छ ।
गाउँ वा टोलका मानिसहरू मिलेर इनार, पोखरी, ढुंगेधारा, कुलो र पानीका स्रोतहरू सफा गर्छन् । साथै, परिवार तथा आफन्तसँग बसेर विशेष परिकार दालबाट बनाइने परिकार, चाकु, मासु तथा अन्य परम्परागत नेवारी परिकार बनाई टोलवासी मिलेर सामूहिक भोज र भेटघाट गर्छन् ।
सिठी नखः नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो । यो नेपाल संवत् अनुसार ज्येष्ठशुक्ल षष्ठीका दिन मनाइन्छ । यो पर्व विशेष गरी वर्षायाम सुरु हुनुअघि पानीका मुहान, इनार, ढुंगेधारा र पोखरी सफा गर्ने परम्परासँग जोडिएको र पानीबाट रोग नफैलियोस् भनेर यो चाड बनाउने गर्छन् । साथै वर्षा सुरु हुनुअघि पानीका स्रोत सफा नगरे पानीका देवता वा नागहरू रिसाउँछन् र पानी दूषित हुने, रोग फैलिने वा पर्याप्त पानी नपर्ने सम्भावना हुने भएकाले सिठी नखःका दिन सबैले मिलेर पानीका स्रोत सफा गर्ने चलन बसेको जनविश्वास छ । यसले सामाजिक तथा वातावरणीय महत्वलाई दर्शाएको छ ।
