काठमाडौं– बागमती प्रदेश काभ्रेपलाञ्चोकको पााचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ ।
मन्दिर व्यवस्थापन उपसमितिका पदाधिकारीले जनाए अनुसार शनिबार साँझ आरती गर्ने बेला देवीको मूर्तिमा पसिना आएको हो । समितिका अनुसार दैवी विपत्ति वा राजनीतिक संकट आउने संकेत स्वरुप मूर्तिमा यस्ता संकेत देखिने गरेको छ । देवीलाई यसरी पसिना आएपछि मूर्तिलाई नुहाएर तान्त्रिक विद्याबाट क्षमा पूजा गरिएको छ ।
दैवी प्रकोप या राजनीतिक संकटको बेलामा जहिल्यै भगवतीको मूर्तिमा पसिना आउने गरेको उपसमितिले जनाएको छ ।
भगवतीको मूर्तिमा गएको २०८२ साल भर्दौ २२, २३ र २४ गते जेनजी आन्दोलन बेला पसिना आएको थियो । त्यसैगरी २०८१ मा बाढीपहिरो, २०७२ सालमा महाभूकम्प, २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड लगायतमा देवीलाई पलाञ्चोक भगवतीलाई पसिना आइरहेको छ । उही दोलखा भीमसेनलाई पसिना आइरहेको घटना आइरहेपछि यी देवीलाई पसिना आउने विषय गौण भएको थियो ।
१९९० सालदेखि नै पटक–पटक दैवी प्रकोप या राजनीतिक संकटको बेलामा पसिना आउने गरेको बताइएको छ । पसिना आएपछि मूर्तिलाई नुहाएर तान्त्रिक विद्याबाट क्षमा पूजा गरिएको उपसमितिले जनाएको छ ।
पलाञ्चोक भगवतीको मन्दिर १ हजार ६ सय ५५ वर्ष पहिले निर्माण भएको इतिहासमा उल्लेख छ । पलाञ्चोक भगवतीलाई जेठी देवीको रुपमा चिनिने र पूजिने गरिन्छ । पहिला काभ्रे जिल्लाको बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती रही आएको छ ।
पलाञ्चोक भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा बोकेर ल्याउँदा रात पर्यो । देवीलाई बोकेर ल्याउने सबै जना त्यहीँ बास बसे । भोलिपल्ट मूर्तिलाई बोकेर लैजान लाग्दा देवी मूर्ति उठाउन सकेनन् । देवी मूर्ति बोक्न नसकेपछि ६० घरधुरीले मद्दत गर्दासमेत भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा गर्दैआएको किंवदन्ती अद्यपी रहेको छ ।
मूर्ति निर्माण गर्ने बेला त्यतिबेलाका कालीगढ ४ वटा मूर्ति बनाए । पहिलो मूर्ति कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, देब्रे हातले नाला भगवती बनाए । त्यसपछि गोडाले नक्साल भगवती र शोभा भगवतीको मूर्ति कुँदिएको किंवदन्ती छ । त्यतिबेलाका त्यहाँका राजाले पलाञ्चोक देवीको जस्तो अर्को मूर्ति नबनाओस् भनेर सुरुमा दाहिने हात, पछि देब्रे हात, अनि गोडा काटिदिएको किवदन्ती रआएको छ ।
पलाञ्चोक देवीको दर्शनका लागि दर्शनार्थीको भिड लाग्छ । त्यसैगरी वडादशैंको नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगा आदिको बलि दिने र बढी भक्तजना आउने चलन छ ।
दशै ंबाहेक वैशाखपूर्णिमा माघे सङ्क्रान्ति, जेठको पूर्णिमा मेला लाग्छ । वैशाख पूर्णिमा र दशैंमा एकादशीको दिन रथ बनाएर देवीलाई मन्दिर घुमाउने चलन छ ।
पृथ्वीनारायणको एकीकरणको समयपछि मन्दिर, पुजारी, गुठियार, दमाइहरूको व्यवस्था भएको अद्यपी रहेको छ । नेपाल एकीकरणपछि पुजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, खड्गीले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँट भएको थियो ।
प्रतिक्रिया