October 28, 2026
धर्म, संस्कृति, साहित्य समाचार

तादी मिडियाको शुभकामना आदानप्रदान ः चाडपर्वलाई संयमित र मितव्ययी रूपमा मनाउन आग्रह

काठमाडौं– तादी मिडिया प्रालिले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। तादी मिडियाले शुक्रबार काठमाडौं महानगरपालिका–१६, बसन्तनगरस्थित गुम्बा नजिक अनुपमद्वारमा कार्यक्रम आयोजना गरेको हो।


कार्यक्रममा वक्ताहरूले गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदी तथा हालै गोरखाको बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित तथा बाँच्न सफल सबैप्रति शुभकामना र सहानुभूति व्यक्त गरे।

वक्ताहरूले दशैंलगायतका चाडपर्वलाई संयमित, मितव्ययी र आफ्नो आर्थिक अवस्था तथा क्षमताअनुसार मनाउनुपर्नेमा जोड दिए। चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता, सहकार्य र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

तादी मिडिया प्रालिका अध्यक्ष तथा सम्पादक अधिवक्ता रामेश्वर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भण्डारीले परम्परागत रूपमा मनाउँदै आएका चाडपर्वलाई मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए।
उनले पुर्खाले स्थापित गरेका संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै समयानुकूल रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। साथै स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउँदै स्थानीयवासीको जीवनस्तर सहज बनाउने गरी प्रभावकारी काम गर्न सरकारलाई सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता निमा हेल्मो, सामाजिक अभियन्ता तथा युवा नेता राजन गौतम (नकुल), अधिवक्ता गोपी भण्डारी, अधिवक्ता राजेन्द्र ढकाल, दिव्यन्यूज डटकमका सञ्चालक तथा प्रधानसम्पादक सन्तोषप्रसाद तिवारी, नगरविकास डटकमका अध्यक्ष दिनेशप्रसाद लामिछाने तथा आयोजक राजु राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरे भने कार्यक्रम संचालन चन्द्रप्रसाद पौडेलले गरेका थिए ।

उनीहरूले गोरखा, धादिङ, रसुवा र नुवाकोटलगायतका जिल्लामा बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्का बेला राज्य, स्थानीय समुदाय र सरोकारवाला सबैबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वलाई भड्किलो र अनावश्यक खर्च नगरी सामाजिक सद्भाव, सांस्कृतिक मूल्य–मान्यता र पारिवारिक आत्मीयतालाई केन्द्रमा राखेर मनाउन सबैलाई आग्रह गरे।

प्रतिक्रिया