May 30, 2026
अर्थ तथा कृषि मुख्य समाचार सबै

इरान हर्मुज नाका खोल्न सहमत, अमेरिका–इजरायल र इरान बीच दुईसाता युद्धविराम

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुई साताको लागि रोक्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा जानकारी दिँदै इरानले तुरुन्तै हर्मुजको नाका खोल्ने सर्तमा दुईसाताको लागि विष्फोट र आक्रमणका कार्यक्रम स्थगित गर्न सहमत भएको जनाएका छन् ।


अमेरिका–इजरायल–इरान युद्धको ४० औँ दिन चल्दै थियो । युद्धविराम अघि अमेरिकाका राष्ट्रपति ट्रम्पले राति एउटा सम्पूर्ण सभ्यताको अन्त्य हुनेछ भनेर इरानमाथि धम्की दिएका थिए ।
राष्ट्रपति ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुख असिम मुनीरको अपीलपछि युद्धविराम गर्ने निर्णय पुगेको जनाएका छन् । इरानले १० बुँदे प्रस्ताव सहित दुई देश बीचका सबै विवादित मुद्दाहरूमा सहमति जनाए पनि सम्झौतालाई पूर्णता दिन र कार्यान्वयन गर्न दुईसाता लाग्ने बताइएको छ ।

इरानले यही शुक्रबार पाकिस्तानको इस्लामाबादमा थप वार्ता हुने जनाएको छ ।

इरानले दुईसाताको लागि होर्मुज नाका खोल्ने घोषणा गरेको छ । यो नाका अवरोध हुँदा नेपाल सहित दक्षिण एसियाली मुलुकहरुलाई इन्धनको संकट परेको छ ।
इरानले आफ्ना नागरिकलाई यो समयमा राष्ट्रिय एकता कायम राख्न र पूर्णशक्तिका साथ विजय मनाउन आग्रह समेत गरिएको छ । यसअघि इरानीहरु आफ्नो राष्ट्रिय झण्डा सहित मानव साँङलो बनाएर सडक र पुलमा उभिएर राष्ट्रियगान गाउँदै एकतावद्ध देखिएका थिए ।

यसअघि राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेको थिएन । रूस र चीनले यसलाई भिटो प्रयोग गरेका थिए । यो नाका खोल्ने प्रस्ताव बहराइनले पेश गरेको थियो । अल जजीराका अनुसार विगत दुई साताभित्रमा ६ पटक संशोधन गरिएको थियो ।

मंगलबार इरानलाई दबाबमा दिन इजरायली वायुसेनाले इरानका १० प्रमुख रेलवे लाइन र पुलहरुमा भीषण आक्रमण गरेको थियो । इजरायलले इरानीहरुलाई बुधबार साँझ रेलहरु नचढ्न चेतावनी दिएका थिए ।

ठूलो आक्रमण इरानको खार्ग टापुमा भएको थियो । त्यहाँ रहेको तेल टर्मिनललाई लक्षित गरिएको थियो । इरानको करिब ८० देखि ९० प्रतिशत कच्चातेल निर्यात हुने गर्छ ।

प्रतिक्रिया