काठमाडौं–नेपाली कांग्रेस नियमित महाधिवेशन पक्ष (देउवा समूह) रसुवाको १५औँ जिल्ला अधिवेशनबाट उपेन्द्रराज लम्साल जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
बिहीबार सदरमुकाम धुन्चेमा आयोजित अधिवेशनले लम्साललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले दुईवटा प्रदेशसभा क्षेत्र र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन गरेको छ । रसुवा प्रदेशसभा क्षेत्र (क) को सभापतिमा तेम्पानुर्पु तामाङ र (ख) को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन् ।
त्यसैगरी, गाउँपालिकाको सभापतितर्फ क्रमशः कालिकामा माधव न्यौपाने, उत्तरगयामा ध्रुवप्रसाद आचार्य, नौकुण्डको सभापतिमा डिवराज न्यौपाने, आमाछोदिङ्मोमा चेरसिं तामाङ र गोसाइँकुण्डमा प्रकाश तामाङ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि तथा सभापतिहरू मात्र चयन गरेको नवनिर्वाचित सभापति लम्सालले जनाएका छन् । केन्द्रीय महाधिवेशनपछि जिल्ला, प्रदेश, पालिका र वडाका पदाधिकारी तथा सदस्य थप गरी कार्यसमितिलाई पूर्णता दिइने बताइएको छ ।
प्रतिक्रिया