काठमाडौं– भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा रहेको सडक कटान गरेपछि १४ दिनदेखि सडक अवरुद्ध छ ।
काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडक मुनिको कटान गरेपछि १ सय मिटर सडक भासिएको छ । सडक भासिपछि तराई र काठमाडौं आवतजावत गर्ने राजमार्ग बन्द भएको हो । कृष्णभीरमा भासिएकै ठाउँभन्दा माथि नयाँ ट्र्याक खोल्न उपकरण सहित काम भैरहेको छ । पहाड काट्न चाहिने २५० मिटर ट्याक दुवैतिर जोडिसकेको छ ।
अब उक्त सडकमा ग्राभेल बिछ्याएर रोलिङको काम आइतबारबाट थालिएको छ । ३–४ दिनमा कार्य सकेर यातायात सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले जनाइन् साथै यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य सहित काम भैरहेको उनले जनाइन् ।
त्रिशुलीले सडकको बेस नै कटान गरेर भासिएकाले नयाँ ट्रयाक खोल्नुपरेको हो । कृष्णभीरमा पहिले बायो इन्जिनियरिङको प्रयोग गरेर कंक्रिट र विरुवालाई मिलाएर पहिरो रोकथाम गरिएको थियो ।
कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु ढुवानी प्रभावित छ । यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ । हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा सवारीको चाप बढेको छ । काठमाडौँ आउजाउ गर्न सहज छैन ।
कृष्णभीरमा सडक खसेपछि काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।
प्रतिक्रिया