July 28, 2026
धर्म, संस्कृति, साहित्य मुख्य समाचार सबै

अगुल्टो बार्दै, देउपितृ पुज्दै, लुतो फाल्लेर साउने संक्रान्ति मनाइदै

कर्णाली प्रदेशस्थित जुम्ला जिल्लाको जुम्लाबजारमा संस्कृतिको रुपमा मनाइने साउने संक्रान्तिको दिन राँकोले झिलिमिली जुम्ला बजार । तस्बिरः कपिल महत

काठमाडौं– देउ पितृ पूज्ने र लुतो फाल्ने आषाढ शुक्लतृतीयालाई साउने संक्रान्ति रुपमा मनाइदै आएको छ । संक्रान्तिको दिन गुरुङ समुदायले पितृको पूजा गरी कुलदेवताको पूजाआराधना गरे भने अन्य समुदायले शुक्रबार साँझ स्थानीयले विभिन्न वस्तुहरु भेला परेर आगो फुकेर अगुल्टो सहित लुतो फालेका छन् ।


ज्योतिषशास्त्रको निणर्यपद्धति अनुसार सौर्यमण्डलका अधिपति सूर्यले मिथुन राशिबाट कर्कट राशिमा सर्ने दिन कर्कट संक्रान्ति समेत भनिन्छ ।
कर्कट संक्रान्तिदेखि सूर्यको दक्षिणायन गति प्रारम्भ हुन्छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन छोटो र रात लामो हुँदै जान्छ । चन्द्रमा सत्ताईस नक्षत्र मध्ये श्रवण नक्षत्रको नजिकमा गएर आफ्नो सोह्रकलाले पूर्ण भएको दिन श्रावणशुक्लपूर्णिमा कहलाउँने गर्छ ।

२०८३ असार ३२ गते बिहीवारदेखि ठूला ग्रह अर्थात गुरु बृहस्पति अस्त भएका छन् ।
काम्यकर्म अथवा भाकल पूजा बाहेक नित्य नैमित्त्य पूजा गर्न हुन्छ । न्वारन र काजक्रिया भने गर्छन् ।


संस्कृति विद् डा. जगमान गुरुङले आफ्नो सामाजिक संजालमा उल्लेख गरे अनुसार नालमा साउने संक्रान्तिको बिहान स्येउथेब(पितृपूजा) र फैलुनेँब (कुलदेवताको पूजा अराधना) गर्ने परम्परा छ । बेलुका राँको निकालेर अगुल्टो फाल्ने, बन्दुक पड्काएर बढाईँ गर्ने, लुतो लैजा, लुतो लैजा भनेर चिच्याउने र घरको दैलो माथी लोडे (कुकुर डाईने), च्यार्बो( पैय्यूँ), नानम्होस्योँ( धोबिनी फूलको हाँगा), लुत्ते झार, क्ह्रु(पाटे सिउँडि), तिब्रु (भकेम्लो) को काठ आदि वनस्पतिहरु बाँधेर घर बार्ने चलन छ ।
उनका अनुसार धानको रोपाईँ पनि सकभर असार महिना भित्रै र कसैगरी सकिएन भने साउनेसंक्रान्तिका दिन बेलैमा रोपाईँको मैजारो गरेर साँझमा अगुल्टोले फेला पार्छ भनेर खेतलाहरु पनि छिट्टै घर भित्रिन्छन् ।


साउने संक्रान्तिको भोलिपल्ट शनिबार अर्थात २ गते अगुल्टो बार्छन् र मेल जाँदैनन् । शनिबार भूमे पूजा गर्छन् र चेलीबेटीलाई साउने संक्रान्तिको भात ख्वाएर चाड मान्छन् । लुतो फालेपछि विभिन्न फंगस र भाइरसहरु सफाइ हुने जनविश्वास छ । घरबार गरेर धूप धूवाँर गरेपछि घर भित्र रोगको कीटाणु छिर्दैन । कुल–पितृमानेपछि शक्ति प्राप्त हुन्छ । चेलीबेटी बोलाएर चाड मानेपछि काममा आनन्दि प्राप्त हुन्छ । साउने संक्रान्तिको साँझ राँको निकालेर अगुल्टो फालेर लुतो फाल्ने चलन कर्णाली क्षेत्रको पुरानो सिँजा संस्कृतिको विशेषता छ । किनभने साउने संक्रान्तिका दिन राँको निकालेर अगुल्टो फाल्दछ, त्यहाँसम्म सिजापतिको मुलुक हो भन्ने मान्यता अद्यपी छ ।
साउने संक्रान्तिमा अगुल्टो फालेर लुतो फाल्ने प्रचलनले विदेशमा पनि नेपाली संस्कृतिलाई व्यापक बनाएको छ । यसरी हाम्रा चाड पर्वहरु वैज्ञानिक र राष्ट्रियताको भावनाले भरिपूर्ण छन् । त्यसैले दिक्क नमानिकन आफ्नो सनातन कुलधर्ममा अडिएर चाड पर्व मनाएर मानसिक एवं शारीरिक रूपले स्वस्थ रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया