काठमाडौं– सरकारले नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) मा मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
उनलाई बुधबार साँझ दज्र्यानी चिह्न समेत प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त आईजीपी केसीलाई बुधबार साँझ गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
केसीले नेपाल प्रहरीको नेतृत्व करिब १७ महिना सम्हाल्नेछन् । उनी ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने समयसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा बहाल रहनेछन् ।
यसअघि आईजीपी नियुक्त भएका दानबहादुर कार्कीको पदावधि पनि अझै १७ महिना बाँकी थियो । कार्की २०८२ कात्तिक २७ गतेदेखि नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकका रूपमा कार्यभार सम्हालेका थिए । उनी २०८४ चैतसम्म प्रहरी सेवामा रहने गरी आईजीपी नियुक्त भएका थिए ।
सरकारले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाए पनि प्रहरी सेवाबाट अवकाश भने दिएको छैन । उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरिएको हो । उक्त पद प्रहरी महानिरीक्षकस्तरको रहने गरी सिर्जना गरिएको सरकारले जनाएको छ ।
नवनियुक्त आईजीपी केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, फेक रेस्क्यु, स्मार्ट टेलिकम तथा विभिन्न वित्तीय ठगीसम्बन्धी अनुसन्धानको नेतृत्व गरेका थिए ।
केसी नेपाल प्रहरीमा २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनी र कार्की एउटै ब्याचका प्रहरी अधिकृत हुन् । केसीले प्रहरी संगठनका विभिन्न विभाग तथा कार्यालयमा रहेर काम गरिसकेका छन् ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीमा नेतृत्व परिवर्तन भएको छ भने कार्कीको बाँकी कार्यकाल पूरा हुनुअघि नै नयाँ आईजीपीले संगठनको कमान्ड सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया