काठमाडौँ — ’…मुलूकको राजकाज बिग्रन गएको बेला सम्हाल्ने काम राणावंशमाथि परिआई सो वंशले यस राज्यको प्रधानमन्त्री पद ग्रहण गरी मुलूकको शासन अभिभारा उठाई आएको अहिले ९४ वर्ष भयो । यसबीचमा नेपालको इतिहासमा भोटको लडाइँ, लखनौको लडाइँ, सन् १९१४ को महासमर इत्यादि राष्ट्रीय घटना परिआएका बखत र अघिपछि शान्तिको समयमा समेत सरकारको आर्डर उर्दीबमोजीम जुन बेला जहाँ जुन काम परिआयो तहाँ गई निमकको सोझो चिताई जहाँ जुन ठाउँमा गए पनि हाम्रो फौजले बहादुरी देखाई मुलूकको गौरव बढाएका छन् ।…’ तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९८ सालमा आफ्नो जन्मदिनमा भाइभारदार र ’रैती’लाई सम्बोधन गर्दै दिएको भाषणको अंश हो ।
१९९८सालमा जुद्धले जन्मदिनमा दिएको भाषण ।
जोसेफ पिटर रिन्डफ्लाइशको संग्रहमा रहेका ८०० भन्दा बढी ऐतिहासिक नेपाली पाण्डुलिपि तथा दस्तावेज राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण भएसँगै हराउँदै गएका इतिहासका यस्ता महत्त्वपूर्ण सामग्री फेरि सार्वजनिक अभिलेखमा फर्किन थालेका छन् । जुद्ध शमशेरको यो भाषण पनि इतिहासका त्यस्तै दुर्लभ दस्तावेजमध्ये एक हो, जसले तत्कालीन शासन र सैन्य इतिहासको एउटा झलक दिन्छ ।
जोसेफ पिटर रिन्डफ्लाइश जर्मन व्यवसायी तथा हुलाक टिकट संग्रहकर्ता हुन् । उनको सन् २००२ मा निधन भएको थियो । उनका छोरा र हाइडलबर्ग विश्वविद्यालयको सक्रियतामा यी दस्तावेजहरूको संरक्षणसहित नेपाललाई हस्तान्तरण गरिएको छ । हाइडलबर्ग विश्वविद्यालयका प्राध्यापक आक्सेल मिखायेल्स रिन्डफ्लाइशका छोरा वाल्टर रिन्डफ्लाइसका साथी हुन् । वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउन मिखायेल्सलाई हस्तान्तरण गरेका थिए । त्यसपछि हाइडलबर्गमा संग्रहको संरक्षण, डिजिटाइजेसन, सूचीकरण र अध्ययन गरिएको थियो ।
शुक्रबार पुरातत्व विभागको कार्यक्रममा प्राध्यापक मिखायेल्सले परराष्ट्रमन्त्री शिशिर खनाललाई दस्तावेज हस्तान्तरण गरेका हुन् । नेपाल सरकारसँग संग्रह हस्तान्तरणसम्बन्धी औपचारिक सम्झौता २४ अप्रिल २०२६ मा हाइडलबर्गमा भएको थियो । नेपालका तर्फबाट कार्यवाहक राजदूत सागर फुयाँल र प्रा. मिखायेल्सले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार संग्रह अगस्ट २०२६ मै नेपाल ल्याइए पनि औपचारिक रुपमा शुक्रबार हस्तान्तरण गरिएको हो । अब यो संग्रह राष्ट्रिय अभिलेखालयमा स्थायी रूपमा रहनेछ ।
रिन्डफ्लाइसको निजी संग्रहमा १३ औंदेखि २०औं शताब्दीसम्मका दस्तावेज थिए । सन् १७८० र १९९० को दशकमा नेपालबाट संकलन गरिएको यस संग्रहमा ताडपत्र, रुक्का, लालमोहरलगायतका राजकीय लिखतहरू समावेश छन् । यस संग्रहलाई हाइडलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा–प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा फिर्ता गरिएको हो । ती सामग्री कसरी र कुन बाटो भएर जर्मनी पुगे भन्ने खोजकै विषय रहेको अध्येता राजन खतिवडाले बताए ।
परराष्ट्रमन्त्री खनालले ऐतिहासिक दस्तावेजको स्वदेश फिर्तीले नेपालको सांस्कृतिक अखण्डता र सभ्यतागत सम्पदामाथिको सार्वभौम स्वामित्वलाई पुनःस्थापित गरेको बताए ।
मन्त्री खनालले प्राचीन ताडपत्र, राजकीय सनद, अदालतका आदेश, संस्कृत ग्रन्थ र ऐतिहासिक यात्रा विवरणहरू समेटिएका यी दस्तावेजले नेपालको राजनीतिक, कानुनी र बौद्धिक विकासक्रम बुझ्न सहज हुने बताए ।
सन् १२४१ ताकाका ४६५ मल्लकालीन ताडपत्र पनि सुरक्षित रूपमा स्वेदश फर्काइएको छ । ताडपत्र ताड (पाम) जातको रूखका पात सुकाएर बनाइएको लेख्ने सामग्री हो । प्राचीन समयमा कागजको सट्टा यसमा धार्मिक ग्रन्थ, साहित्य र अन्य महत्त्वपूर्ण दस्तावेज लेखिन्थे ।
१९१० मा जारी मुलुकी ऐनको प्रति ।

१९१० सालमा जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनको प्रति घर फर्काइएको छ । त्यस्तै माटोको छापसहित शाह र राणाकालीन ३१२ कानुनी सनद तथा राजकीय कागजात, राणा प्रधानमन्त्री कार्यालयका १८ हस्तलिखित ग्रन्थ तथा यात्रा डायरी र विविध विषयका ११ हस्तलिखित ग्रन्थ पनि फर्काइएको छ ।
नेपाल र जर्मनी सन् १९७० को युनेस्को सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण रोकथामसम्बन्धी महासन्धिका पक्ष राष्ट्र हुन् । ’आजको हस्तान्तरण हाम्रो साझा अन्तर्राष्ट्रिय प्रतिबद्धताको महत्वपूर्ण उदाहरण हो । यी दस्तावेजको सहज फिर्तीका लागि जर्मन सरकार, काठमाडौंस्थित जर्मन दूतावास र हाइडेलबर्ग विश्वविद्यालयले गरेको सक्रिय सहयोगको उच्च कदर गरेको मन्त्री खनालले बताए ।
हाइडलबर्ग विश्वविद्यालयमै आबद्ध अध्येता खतिवडा प्राचीन एवं ऐतिहासिक दस्तावेज घर फर्किनु गौरवको विषय भएको बताए । माध्यमिककालीन ताडपत्रहरूले मध्यकालको आर्थिक, प्रशासनिक इतिहास हेर्न ठूलो मद्दत पुग्दछ । साथै यस्ता प्राचीन दस्तावेजको फिर्ताले संसारमा नेपालबाट बाहिर गएका यस्ता वस्तुहरू फिर्ता गर्न एक किसिमको नैतिक दबाब पनि सिर्जना गरेको खतिवडाको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय अभिलेखालयका महानिर्देशक रामबहादुर कुँवरले ऐतहासिक कूटनीतिक दस्तावेजहरू पनि फर्किनुले अध्ययन÷अनुसन्धानमा सहयोग पुग्ने बताए । केही त्यस्ता महत्त्वपूर्ण परराष्ट्र मामिलासम्बन्धी दस्तावेज छन्, केही डायरी छन्, केही लालमोहर छन् । त्यसबाट तत्कालीन परराष्ट्र सम्बन्ध, राजनीतिक, धार्मिक र सांस्कृतिक अवस्था र विविध पक्षका बारेमा जानकारी लिन सकिने महानिर्देशक कुँवरले बताए ।
दोस्रो विश्वयुद्धसम्बन्धी ऐतिहासिक दस्तावेज ।
प्रा. मिखायेल्सले फेब्रुअरी २०१८ मा एक सहकर्मीले नेपाली हस्तलिखित दस्तावेजहरूको संग्रह राखिएका दुई ठूला बाकस हाइडेलबर्ग विश्वविद्यालयस्थित आफ्नो कार्यालयमा ल्याएको बताए । उनले भने, ’त्यहाँ ८ सयभन्दा बढी दस्तावेज थिए । तीमध्ये ४६५ वटा अत्यन्तै जीर्ण अवस्थामा रहेका भोजपत्रका दस्तावेज थिए, जसमध्ये केही १३औँ शताब्दीतिरका थिए । संग्रहमा राजकीय दस्तावेज, अदालतका अभिलेख, संस्कृतका हस्तलिखित ग्रन्थलगायत सामग्री पनि थिए । सम्भवतः यो नेपालबाहिर रहेको नेपाली हस्तलिखित दस्तावेजको सबैभन्दा ठूलो संग्रह थियो ।’
ती सहकर्मी र आफूलाई त्यतिबेलै यी दस्तावेजलाई नेपाललाई फर्काउनुपर्छ भन्ने लागेको पनि उनले बताए । ’यसमा सन् १२४१ मा तयार पारिएको नेपालको सबैभन्दा पुरानो हस्तलिखित दस्तावेजमध्ये एक पनि थियो । मेरा सहकर्मी र मलाई त्यतिबेलै यो संग्रह अन्ततः नेपाल फर्काउनुपर्छ भन्ने स्पष्ट भयो,’ प्रा. मिखायेल्सले भने ।
नेपालका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको दस्तावेजीकरण गर्ने ‘नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्ट’ (एनएचडीपी) औपचारिक रूपमा सम्पन्न भएको प्रा. मिखायेल्सले जानकारी दिए ।
परियोजनाले ८ वर्षको अवधिमा नेपालका २ हजारभन्दा बढी सम्पदा, २ हजार ५ सय शिलालेख र ८ हजार ऐतिहासिक वस्तुको अभिलेखीकरण गरेको छ ।
हाइडलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज, हाइडलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिज र सराफ फाउन्डेसनको सहकार्यमा सञ्चालित परियोजनाले मुख्यतः काठमाडौं उपत्यका र सांस्कृतिक रूपमा जोडिएका क्षेत्रका वास्तुकला तथा सांस्कृतिक सम्पदाको तस्बिर, विवरण र अध्ययन गरेको हो । यस क्रममा पर्व तथा संस्कारजस्ता अमूर्त सांस्कृतिक सम्पदाको समेत अभिलेख तयार गरिएको परियोजनाले जनाएको छ ।
स्रोतः कान्तिपुर
प्रतिक्रिया