काठमाडौं–चारदिनको लगातार वर्षापछि आइतबार काठमाडौं उपत्यकाको मौसम खुलेको छ । आकाश खुल्दा हिमालसमेत देखिन थालेपछि काठमाडौंवासीको मन रमाएको छ । तर, यही वर्षाले देशका विभिन्न भागमा भने बाढी, पहिरो र डुबानको पीडा थपेको छ ।

असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानमा परी हालसम्म २१ जनाले ज्यान गुमाइसकेका छन् भने ५ जना बेपत्ता छन् । त्यसैगरी ५ जना घाइते भएका छन् । म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्ला बढी प्रभावित भएका छन् ।

पर्वतमा कालीगण्डकीको बाढीले करिब ८० घर बगाएको छ । त्यसैगरी बाढीले रुपन्देहीको बुटवलमा ६ घर बगाएको छ । सप्तरीमा ५ सय घर डुबानमा परेको छ । म्याग्दीमा पहिरोमा फसेका ७८ जनासहित विभिन्न क्षेत्रबाट सयौंको उद्धार गरिएको छ । १ हजार ४२१ जना बाढीले विस्थापित भए ।
सडकतर्फ ठूलो असर परेको छ । देशभरका राजमार्गमा करिब ५५० स्थानमा अवरोध देखिएको सडक विभागले जनाएको छ । पहिरो, गेग्रान र बाढीका कारण पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्गलगायत सडक प्रभावित भएका छन्।

उता मनाङको हिमलुङ हिमालमा हिमपहिरो जाँदा २२ जनाको टोलीमध्ये १२ जना सम्पर्कविहीन छन् । खराब मौसमका कारण उद्धारका लागि पुगेको हेलिकोप्टरसमेत अवतरण गर्न नसकेको जनाइएको छ ।
ऊर्जा क्षेत्रमा समेत क्षति पुगेको छ । बाढीपहिरोका कारण राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
त्यसैगरी पर्वतमा ३ वटा पक्की पुल बाढीले क्षति पुर्यो भने स्याङजा, गोरखा, म्याग्दी, तनहुँ र मनाङमा १–१ पुल गरी जम्मा ८ वटा पक्की पुल क्षतिग्रस्त भए ।
यस विपद्बाट भएको कुल आर्थिक क्षतिको आधिकारिक विवरण आएको छैन ।

मौसम खुल्यो, हिमाल हाँस्यो—तर बाढीले देशका धेरै परिवारलाई रुवाएर गयो । मौसममा सुधार आए पनि नदी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले छ । त्यसैले सतर्क रहन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया