काठमाडौं– अविरल वर्षाले बाढीले स्थानीयको घर बगाएको छ भने, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढाएको छ । लगातारको वर्षाका कारण प्रमुख राजमार्गसहित ग्रामीण सडकहरू प्रभावित भएका छन् भने नदी तथा खोलामा पानीको सतह बढ्दा नदी किनारका बस्तीहरू जलमग्न हुन थालेका छन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ र गुल्मीको पनि कालिगण्डकी गाउँपालिका १ जोड्ने उक्त पुल शनिबार राति बगाएको गाउँपालिकाले जनाएको छ ।
अविरल परेको वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ । वडा नम्बर ८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाएको छ ।
भारी वर्षाका कारण धादिङ, काभ्रे, बागलुङ, गुल्मी, म्याग्दी, मुस्ताङलगायतका जिल्लामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मध्यपहाडी, कालीगण्डकी, कर्णाली, राप्ती तथा तमोर करिडोरका विभिन्न खण्डमा आवागमन प्रभावित भएको छ ।
तराईका केही बस्तीमा नदीको पानी पस्दा घरहरू डुबानमा परेका छन् । नवलपरासी पश्चिमको सुस्तालगायत क्षेत्रमा बाढीका कारण स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बागलुङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
मनाङमा अबिरल वर्षापछि मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ । नासों गाउँपालिका १ स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थुनिएर जलमग्न भएको छ । अहिले स्थानीयसंग सम्पर्क टुटेको छ भने बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक मार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
लगातारको वर्षाले सडक कटान, पहिरो र नदीको बहाव बढ्दा पुल तथा सडक पूर्वाधारमा समेत थप क्षतिको जोखिम बढेको छ । यसअघि क्षतिग्रस्त संरचनाहरूमा पुनः क्षति हुन सक्ने भएकाले यात्रु तथा स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात भैरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा मिति शनिबार रातिदेखि हिमपातपछि त्यहाका वस्ती र डाँडाकाँडा सेताम्मे भएका छन् । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको स्थानीय सुन्दरकुमार थकालीले जनाएका छन् । स्थानीयलाई हिमाली यात्रा तथा पदयात्रामा समेत सतर्कता अपनाउन भनिएको छ ।
मौसम तथा जलविज्ञान विभागले जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो र गेग्रान बहावबाट जोगिन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
प्रतिक्रिया