October 28, 2026
मुख्य समाचार श्रेणीहरू सबै

देशभर वर्षाको कहर : २६ जिल्लाका सडक अवरुद्ध, सयौँ विद्यालय बन्द

काठमाडौं–अविरल वर्षाले देशभरका जनजीवन, यातायात, शिक्षा र आपूर्ति व्यवस्थामा व्यापक असर पारेको छ ।

बाढी, डुबान र पहिरोको जोखिम बढेपछि २६ जिल्लाका विभिन्न सडक तथा राजमार्गमा आवागमनमा रोक लगाइएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जोखिमयुक्त सडक प्रभावित भएका छन् ।

देशकै राजधानी काठमाडौं जोड्ने पृथ्वी राजमार्गअन्तर्गत धादिङको बाङ्गेमा खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, नारायणगढ–मुग्लिन सडक, बीपी राजमार्ग र कान्ति लोकपथका विभिन्न खण्डमा पहिरो र बाढीले यातायात प्रभावित छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा यातायात अनिश्चितकालका लागि रोक लगाइएको छ भने बीपी राजमार्गमा आवतजावतमा गर्न स्थानीय प्राशसनले रोक लगाएका छन् ।


भारी वर्षाका कारण बागमती प्रदेशभित्र पर्ने चितवनका ७ पालिकाका ४९७ विद्यालयमा शुक्रबार पठनपाठन बन्द गरिएको थियो । विभिन्न जिल्लाहरु काभ्रे, कास्की, कपिलवस्तु, स्याङ्जा, सुर्खेतको वीरेन्द्रनगर लगायतका स्थानीय तहले जोखिम हेरेर विद्यालय बन्द गराएका थिए ।
पहाडदेखि तराईसम्म नदीको बहाव बढेको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा, काभ्रेको रोशी तथा बुटवलको तिनाउ नदीमा बाढीको जोखिम बढेको छ । तिनाउ नदी बुटवलमा सतर्कता तह पार गरिसकेको छ भने कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त र वेदकोट तथा डडेलधुराको परशुराम क्षेत्रमा डुबान र बाढीको जोखिम बढेको छ ।
उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ । मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा वर्षा र हिमपातका कारण सडक तथा यातायात प्रभावित हुनसक्ने देखिएको छ ।
चीनबाट आयात निर्यात हुने नाका बेनी–जोमसोम–कोरला सडकमा रातिको आवागमन रोकिएको छ ।

सडक अवरुद्धको असर
सडक अवरुद्ध हुँदा काठमाडौंलगायत पहाडी बजारमा खाद्यान्न, इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने देखिएको छ । त्रिभुवन राजमार्ग एकतर्फी सञ्चालन गरी अत्यावश्यक सामान भित्र्याउने व्यवस्था गरिएको छ भने वैकल्पिक सडकमा ठूला मालवाहक गाडी चल्न नसक्दा आपूर्ति थप चुनौतीपूर्ण बनेको छ ।


मौसम पूर्वानुमानअनुसार आगामी दिनमा पनि केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम विद्हरुले जनाएका छन् । स्थानीय प्रशासनले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ भने रात्रीकालीन बस संचालनमा रोक लगाएको छ ।

प्रतिक्रिया