July 28, 2026
राजनीति श्रेणीहरू समाचार

बेलायतका नयाँ प्रधानमन्त्री

तस्बिरः बेलायतका राजा चाल्र्स तृतीय र नयाँ प्रम बर्नहम

काठमाडौं– बेलायतमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री चयन भएका छन् ।

उनी लेबर पार्टीको नेतृत्व जितेपछि प्रधानमन्त्री बनेका हुन् । पूर्वप्रधानमन्त्री कियर स्टार्मरले राजीनामा दिएपछि उनी सत्ताको नेतृत्व सम्हाल्न पुगेका छन् । ५६ वर्षीय बर्नहमलाई ‘किङ अफ द नर्थ’ (उत्तरका राजा) भनेर पनि चिनिन्छ । उनले एक दशकअघि वेस्टमिन्स्टर छाडेर ग्रेटर म्यानचेस्टरको मेयर थिए । केही साताअघि मात्र संसद्मा फर्किएका बर्नहमले लेबर पार्टीको नेतृत्व जितेका थिए । बर्नहम बेलायतका ५९औँ प्रधानमन्त्री बनेका छन् ।

बर्नहमले सन् २०१७ मा वेस्टमिन्स्टर छाड्नुअघि लेबर पार्टीका विभिन्न सरकारमा मन्त्रीका रूपमा समेत काम गरिसकेका छन् । उनी ग्रेटर म्यानचेस्टरका मेयर भएपछि कोभिड–१९ महामारीका बेला उत्तरी इङ्ल्यान्डको पक्षमा खुलेर आवाज उठाउँदा क्षेत्रीय लगानी बढाउन अभियान चलाए । त्यसपछि उनी बेलायतका सबैभन्दा चर्चित क्षेत्रीय नेता बनेपछि उनलाई ‘किङ अफ द नर्थ’ भन्ने उपनाम दिइयो ।

सहज र जनमैत्री शैलीका बर्नहमले आफूलाई परम्परागत वेस्टमिन्स्टर राजनीतिज्ञभन्दा फरक रूपमा प्रस्तुत दिंदै आएका छन् । अभियानका क्रममा उनले भने, ‘मैले राजनीति फरक ढङ्गले गर्ने भनेको थिएँ, र त्यसलाई व्यवहारमा पनि उतारें ।’

तर सुस्त अर्थतन्त्र र उच्च जीवनयापन खर्चजस्ता स्टार्मरले सामना गरेका चुनौतीहरू नै सम्हाल्नुपर्ने उनको चुनौती छ ।
प्रधानमन्त्री बनेलगत्तै बर्नहमले अर्थमन्त्री (चान्सलर), विदेशमन्त्री, गृहमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूको नियुक्ति गर्दै मन्त्रिपरिषद् गठन सुरु गर्नेछन् ।
बेलायतमा प्रधानमन्त्री नियुक्त भएपछि कुनै शपथ ग्रहण समारोह वा संसद्को अनुमोदन आवश्यक पर्दैन । सरकारले तत्काल कार्यभार सम्हाल्छ ।

सन् २०२४ को निर्वाचनमा लेबर पार्टीले जितेकाले अर्को आमनिर्वाचन सन् २०२९ भित्र गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया