काठमाडौं–मनाङ सदरमुकाम चामेमा आएको बाढीले मस्र्याङ्दी नदी थुनिएर बनेको तालमा डुबेको मोटरेबल पुलमाथि काठ राखेर अस्थायी पुल संचालनमा ल्याएको छ ।
असोज ९ र १० गतेको बाढीले अवरुद्ध पारेको माथिल्लो मनाङतर्फको सडक ३ सातापछि मंगलबार साँझदेखि सञ्चालनमा आएको हो ।
घट्टेखोलामा आएको बाढीपहिरोले मस्र्याङ्दी नदीको बहाव थुनिएपछि ताल बनेको थियो । तालमा ढुंगा, गिट्टी, बालुवासहित गेग्रान थुप्रिएर माथिल्लो मनाङ जोड्ने सडकको ट्रस ब्रिज डुबेको थियो । नदीमा थुप्रिएको गेग्रान हटाएर पुलमुनिबाट पानीको बहाव खुलाउन प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार तथा अन्य सरकारी र गैरसरकारी निकायले ३ सातासम्म प्रयास गरेका थिए । त्यसपछि पुलको फलामे बिममाथि काठ राखेर वैकल्पिक पुल निर्माण गरिएपछि माथिल्लो मनाङसंगको सम्पर्क जोडिएको हो ।
जिल्लाका स्थानीय तहले काठको व्यवस्थापन गरेका थिए भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा ३५ मिटर लामो पुलको माथिल्लो बिममाथि काठ राखेर अस्थायी संरचना बनाइएको मनाङ प्रशासनले जनाएको छ ।
काठेपुल बनेपछि ३ सातादेखि माथिल्लो मनाङमा रोकिएका जिप र मोटरसाइकलले मस्र्याङ्दी नदीमाथिको पुल तरेका छन् ।
पुल अवरुद्ध भएपछि माथिल्लो मनाङमा रोकिएका सवारीसाधन र केही पर्यटक काठेपुल बनेपछि फर्किएका थिए । पुल सञ्चालनमा नआउँदा कतिपय कर्मचारीसमेत कार्यालय आउन सकेका थिएनन् । माथिल्लो मनाङमा खाद्यान्नलगायत सामग्रीको ढुवानी ठप्प थियो । स्थानीय तथा पर्यटक जोखिम मोलेर पुलको फलामे बिमबाट वारपार गर्न थालेपछि अस्थायी पुल निर्माण गरिएको बताइएको छ । यही पुल
२०७८ सालको बाढीमा पनि डुबानमा परेको थियो । त्यतिबेला चामे बजारको वारि र पारि जोड्ने झोलुंगे पुलसमेत बगाएको थियो ।
मोटरेबल पुलबाट वारपार गर्न नसकिएपछि यसअघि माडा हुँदै नेपाली सेनाको ब्यारेक पछाडिबाट मस्र्याङ्दी नदीको झोलुंगे पुल तरेर तलेखु निस्कने वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको थियो । उक्त बाटोसमेत जोखिमपूर्ण भएपछि स्थानीय र पर्यटक फलामे पुलको माथिल्लो बिमबाटै वारपार गर्न थालेका थिए ।
चामेमा अस्थायी पुल बनेसँगै बेसीसहरदेखि माथिल्लो मनाङसम्म सवारी आवागमन पुनः सञ्चालनमा आएको मनाङ प्रशासनले जनाएको छ । चामे आसपासका ठाडा खोलाले सडक बगाएका ठाउँमा पनि काठ र बिजुलीका खम्बा प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । खोलामा पानीको बहाव घट्दै गएपछि केही स्थानमा ठूला सवारीसाधन खोलाबाटै वारपार गरिरहेका छन् ।
यअघि चामे–भ्राताङ सडकखण्ड सञ्चालनमा आए पनि चामेमा मस्र्याङ्दी नदी वारपार गर्न नसक्दा माथिल्लो मनाङसँगको सडक सम्पर्क विच्छेद भएको थियो । अहिले बेसीसहर–चामे सडकको करिब ६१ दशमलव ५ किलोमिटर र चामे–मनाङ–खाङ्सार सडकको करिब ३६ किलोमिटर खण्डमा सवारी आवागमन सुचारु भएको मनाङ प्रशासनले जनाएको छ ।
प्रतिक्रिया