अर्थ तथा कृषि मुख्य समाचार सबै

विद्यार्थी भिसामा अस्ट्रेलियाले ग¥यो थप कडाई

काठमाडौं–अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा गरेको पछिल्लो परिवर्तनले त्यहाँ अध्ययनरत तथा अध्ययनका लागि आउने तयारीमा रहेका नेपालीलाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।


त्यहाँस्थित गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीले अस्ट्रेलियाभित्रैबाट (अनसोर) भिसा आवेदन दिने, भिसा प्रक्रियामा परिवारलाई समावेश गर्ने लगायतका नियममा कडाइ गरेपछि नयाँ नियम जारी गरेको छ ।
अस्ट्रेलिया सरकारले दुई साताअघि त्यहाँको अध्यागमन नीतिमा व्यापक हेरफेरसहितको योजना सार्वजनिक गरेको थियो । परिवर्तित नीतिमा शुक्रबार अर्थात अक्टोबार २ देखि लागू हुने गरी थप कडाइ गर्दै नयाँ नियम लागू गरेको छ ।

त्यहाँको सरकारले नयाँ नियमअनुसार विद्यार्थीले अध्ययन गरिरहेको कोर्सभन्दा उच्च तहको कोर्स अध्ययन गर्न बाहेक अनसोर भिसा आवेदन दिन नपाउने भएका छन् । जसका लागि अनिवार्य अध्ययन सकिएको कोर्स र अध्यापन गराउने शैक्षिक संस्था अहिले अध्ययन गरिरहेको विषयभन्दा माथिल्लो तहको हुनुपर्ने नयाँ नियममा भनिएको छ । उच्चशिक्षा अध्ययनका लागि अस्ट्रेलियाले भिसा प्रक्रियामा कडाइ गरेसँगै नेपाली विद्यार्थीलाई प्रत्यक्ष असर परेको छ । त्यसरी आफू अध्ययनरत कोर्स पूरा नभएको र पूरा गर्न १२ महिनाभन्दा बढी समय लाग्ने अवस्थामा विद्यार्थीले अध्ययन सक्नका लागि अनसोर भिसा आवेदन दिन पाउने छैनन् । यदि अध्ययन गरिरहेको कोर्स सकिन १२ महिनाभन्दा कम समय लाग्ने अवस्थामा भने विद्यार्थीले अनसोर भिसा आवेदन दिन पाउनेछन् । परिवर्तित नियममा नरहेका विद्यार्थीले अनिवार्य रूपमा अस्ट्रेलिया बाहिरबाटै (अफसोर) भिसा आवेदन दिनुपर्नेछ ।

तर विद्यावारिधि अध्ययन गर्ने विद्यार्थीलाई भने यो नियम लागू नहुने जनाएको छ । विद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा शैक्षिक संस्था खारेजीमा परेका विद्यार्थीलाई यो नियममा छुट दिइएको छ । भिसा आवेदन दिएर त्यसको नतिजा नआउन्जेलसम्म यही बस्ने प्रवृत्तिलाई अन्त्य गर्न त्यहााको सरकारले यो नियम लगाएको बताइएको छ ।

त्यो मात्र नभई त्यहाँको सरकारले यसअघि नै त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई आफ्नो परिवार ल्याउन प्रतिबन्ध लगाउने नियम सार्वजनिक गरिसकेको छ । साथै अध्ययन सकेर काम गर्न पाउने पोस्ट वर्क स्टडी भिसा पाएका विद्यार्थीको हकमा पनि आफ्नो परिवार ल्याउन नपाउने जनाइसकेको छ ।

अस्ट्रेलियाले वार्षिक आप्रवासी संख्या कटौती गरेर ३ लाखबाट २ लाख २५ हजारमा झार्ने जनाएको छ । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका लागि दिने भिसा अनुमतिमा समेत व्यापक कमी आएको छ । नेपाली विद्यार्थीको भिसा अनुमति दर अहिले ३६ प्रतिशत रहेको छ ।
त्यहाको सरकारले यो नियम लागू गरेकाले धेरै विद्यार्थीले आफ्नो अध्ययन र भिसासम्बन्धी योजना पुनर्विचार गर्ने वा नयाँ भिसा आवेदन दिने पर्याप्त अवसरसमेत नपाएको गुनासो गरेका छन् ।

Exit mobile version