October 28, 2026
मुख्य समाचार सबै

बुढीगण्डकी बाढीले १ सयभन्दा बढी घर बगे, ५ सम्पर्कविहिन, पुल र जलविद्युत् आयोजनामा क्षति

Screenshot

काठमाडौं–गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले उत्तरी गोरखाका बस्तीमा ठूलो क्षति पु¥याएको छ । बाढीले घर, झोलुङ्गे पुल, मोटरेबल पुल, सडक, विद्युत् तथा सञ्चार संरचनामा क्षति पु¥याउनुका साथै निर्माणाधीन जलविद्युत् आयोजनाका संरचनासमेत बगाएको छ ।


बाढीबाट चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन् । दिनभर सार्वजनिक गरिएका विवरणअनुसार सुरुमा ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र २७ घरमा आंशिक क्षति पुगेको जनाइएको थियो । आइतबार साँझसम्ममा १ सयभन्दा बढी घर बगेको उल्लेख छ । क्षतिको अन्तिम विवरण संकलन भइरहेको छ ।
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङ क्षेत्रनजिक पहिरोले खोला थुनेपछि एक्कासि पानी खुलेर बाढी आएको बताइएको छ । बाढीले चुमनुब्री–३ स्थित न्याक्चेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे–५ को माछीखोला–केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट क्षेत्रका मोटरेबल पुलमा क्षति पु¥याएको छ । विभिन्न समाचारमा कम्तीमा छवटा पुल बगेको विवरण सार्वजनिक भएको छ । आरुघाट–धादिङ जोड्ने पुल बगाउँदा सडक सम्पर्कसमेत अवरुद्ध भएको छ ।

जलविद्युत् आयोजनामा क्षति
बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण शिविर र केही उपकरण बगाएको छ । आसपासका अन्य जलविद्युत् आयोजना तथा निर्माण संरचनामा पनि क्षति पुगेको बताइएको छ । विद्युतका पोल, सञ्चार टावर र पहुँच संरचनामा समेत असर परेको छ । आयोजनाहरूको वास्तविक क्षतिको तथ्यांक आउन बाँकी छ ।

नेपाली सेनाद्वारा उद्धार, ५ जना सम्पर्कविहीन
बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य सञ्चालन गरेको छ । सेनाको विवरणअनुसार विभिन्न स्थानबाट ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । उद्धार गरिएकामध्ये ९ जना विदेशी अन्य स्थानीय भएको बताइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ५ जना सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली उद्धार तथा खोजी कार्यमा परिचालित छन् । बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने पुलको विकल्पमा बेलिब्रिज जडान गर्न सेनाको इन्जिनियरिङ टोलीसमेत परिचालन गरिएको छ ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बुढीगण्डकी त्रिशूली नदीको सहायक नदी भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै गोरखासहित धादिङ, तनहुँ, चितवन तथा नवलपरासीका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र सम्भावित थप बाढीको निगरानी गर्ने काम भइरहेको छ ।


यसैगरी, गोरखा र धादिङमा प्रस्तावित १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना नेपालको प्रमुख ऊर्जा परियोजनामध्ये एक हो । ४ खर्ब ६अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको लगानी ढाँचा स्वीकृत भई निर्माणको तयारी अघि बढेको थियो । यसको मुख्य निर्माण सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको थियो । बुढीगण्डकीमा आएको बाढीले तत्काल उद्धार, प्रभावित परिवारको सुरक्षा र क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाको चुनौती थपेको छ । घटनाबाट भएको मानवीय तथा आर्थिक क्षतिको यकिन विवरण संकलन र सम्पर्कविहीन व्यक्तिको खोजी कार्य जारी छ ।

प्रतिक्रिया